दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, विचार/ब्लग
दुबईमा नेपाली धार्मिक संस्कारको संरक्षण: यूएईमा हिन्दू जागरण अभियान यूएई द्धारा श्री स्वस्थानी व्रत कथा कार्यक्रम आइतबार सम्पन्न हुने


दुबई — नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक मूल्यसँग गहिरो रूपमा जोडिएको श्री स्वस्थानी व्रत प्रवासमा रहेका नेपाली समुदायका लागि समेत पहिचान र एकताको महत्वपूर्ण आधार बनेको छ। देश तथा प्रदेश बाहिर रहे पनि नेपाली धर्म, संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यूएईमा रहेका नेपाली धर्मानुरागीहरूले यस वर्ष पनि विगतका वर्षहरूझैँ एक महिना निरन्तर रूपमा श्री स्वस्थानी व्रत कथा बाचन, भजन–कीर्तन तथा विधिपूर्वक पूजा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
नेपाली हिन्दू परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक मनाइने श्री स्वस्थानी व्रत विशेषतः महिलाहरूको आस्थासँग जोडिएको भए पनि पछिल्ला वर्षहरूमा पुरुष तथा युवापुस्ताको सहभागिता समेत उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ। पारिवारिक सुख–शान्ति, दाम्पत्य जीवनको स्थायित्व, सन्तान प्राप्ति, रोग–व्याधिबाट मुक्ति तथा मनोकामना पूर्तिका लागि यो व्रत बस्ने धार्मिक विश्वास रहँदै आएको छ।
श्री स्वस्थानी व्रत कथामा भगवान् शिव र देवी पार्वतीको तपस्या, संयम, श्रद्धा र समर्पणका प्रसङ्गहरू उल्लेख गरिएका छन्, जसले धार्मिक आस्थाका साथै नैतिक शिक्षा, सहनशीलता र कर्तव्यबोधको सन्देश प्रदान गर्ने विश्वास गरिन्छ। व्रत अवधिभर प्रत्येक दिन कथा श्रवण, शिवलिङ्ग तथा स्वस्थानी देवीको पूजा, दीप प्रज्वलन र भजन–कीर्तनमार्फत व्रतालुहरूले आध्यात्मिक शान्ति अनुभूति गर्ने परम्परा रहेको छ।
यही धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यूएईमा सञ्चालन हुँदै आएको एकमहिने श्री स्वस्थानी व्रत कथा बाचन कार्यक्रम यस वर्ष पनि अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट सम्पन्न हुँदै आएको आयोजक समितिले जनाएको छ। कार्यव्यस्तता, दूरी र समयको सीमाका बाबजुद पनि श्रद्धालुहरूको सक्रिय सहभागिताले प्रवासमा पनि नेपाली धार्मिक संस्कारप्रति गहिरो प्रतिबद्धता रहेको प्रष्ट भएको छ।
एकमहिने श्री स्वस्थानी व्रतको विधिपूर्वक समापनका रूपमा मनाइने साङ्गेता कार्यक्रम आगामी आइतबार आयोजना गरिने भएको छ। उक्त अवसरमा सामूहिक पूजा, हवन, भजन–कीर्तन तथा प्रसाद वितरण कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन्। साङ्गेता कार्यक्रमलाई देवी स्वस्थानीप्रति कृतज्ञता अर्पण गर्ने तथा व्रतको पूर्णता प्राप्त गर्ने विशेष अवसरका रूपमा लिइने गरिन्छ।
आयोजकका अनुसार यस्ता धार्मिक कार्यक्रमहरूले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाउँदै आएका छन्। साथै, यस्ता अवसरहरूले नयाँ पुस्तालाई नेपाली धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउने तथा भावी पुस्तासम्म संस्कार हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
उक्त कार्यक्रममा यूएईमा कार्यरत तथा बसोबास गर्दै आएका सम्पूर्ण धर्मानुरागी दिदी–बहिनी तथा दाजुभाइहरूलाई समयमै उपस्थित भई सहभागिता जनाउन आयोजक समितिले हार्दिक आह्वान गरेको छ। धार्मिक आस्थासहित कार्यक्रममा सहभागी भई आध्यात्मिक शान्ति प्राप्त गर्नुका साथै पुण्य लाभ आर्जन गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम विवरण:
मिति: ०१ फेब्रुअरी २०२६, आइतबार। समय: दिउँसो १ बजे देखि। स्थान: पुरी रेस्टुरेन्ट वर, दुबई























