दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व
धरान हेल्पिङ ह्याण्ड्स, युएईको १०औँ महाधिवेशन तथा २०औँ स्थापना दिवस भव्य रूपमा मनाइँदै


दुवई, यूएई- यूएईमा कार्यरत नेपाली समुदायबीच सामाजिक सेवा, मानवीय सहयोग तथा आपसी सद्भाव र एकताको प्रवर्द्धन गर्दै आइरहेको धरान हेल्पिङ ह्याण्ड्स, युएईले आफ्नो १०औँ महाधिवेशन तथा २०औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। दुई दशकको निरन्तर सामाजिक यात्रालाई स्मरण गर्दै संस्थाले यस ऐतिहासिक उपलब्धिलाई भव्य र अर्थपूर्ण रूपमा मनाउने तयारी गरेको हो।
संस्थाका अनुसार उक्त समारोह आइतबार, १५ फेब्रुअरी २०२६ का दिन दिउँसो १:०० बजे काठमाण्डप रेस्टुरेन्ट, क्रीक भ्यु होटल, बुर दुबई, युएई मा आयोजना हुनेछ। कार्यक्रममा संस्थाको विगतदेखि वर्तमानसम्मको गतिविधि, सामाजिक योगदान, भावी कार्ययोजना तथा नेतृत्व चयनलगायत विषयमा छलफल गरिनेछ। साथै, विभिन्न सामाजिक अभियन्ता, संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहने अपेक्षा गरिएको छ।
धरान हेल्पिङ ह्याण्ड्स, युएईले स्थापना कालदेखि नै आपतविपतमा परेका नेपालीलाई सहयोग, स्वास्थ्य, शिक्षा तथा सामाजिक सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। २०औँ स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व, एकता र सेवाभावलाई अझ मजबुत बनाउँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
संस्थाले यस महत्वपूर्ण अवसरमा सबै शुभेच्छुक, समाजसेवी तथा प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल, भव्य र स्मरणीय बनाउन हार्दिक अनुरोध गरेको छ।























