सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै


सिरहा । पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
“गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रा एचपिभी खोपबाट छुटेका थिए । यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,” खोप निरीक्षक कँडेलले भनिन् । उनका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन् ।
अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको छ ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार लहान नगरपालिकामा गत वर्षको खोप अभियानमा दुई प्रतिशत छात्रा खोपबाट वञ्चित भएका थिए । खोप अभियानलाई प्रभावकारी बनाउन आज लहान नगरपालिकाले पालिकास्तरीय खोप समन्वय समितिको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी मङ्गलबार स्थानीय स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा वडास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने स्वास्थ्य शाखाले जनाएको छ ।























