स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक


काठमाडौँ, माघ ११। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको बताउनुभयो । मन्त्रालयले नागरिक केन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने योजनासहित काम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्यमन्त्री डा गौतमले केही समयअघि स्वास्थ्य बिमा सुधारका लागि राष्ट्रिय कार्यशालाले निक्र्यौल गरेका राय सुझावसम्बन्धी कार्ययोजना तयार पारेको र कार्यान्वयनको लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनुभयो । यसैगरी तीन महिनाको अवधिमा जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापनमा सरकारको गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम गठित समितिले दुई हजार ६०९ जनाको विवरण सङ्कलन गरेकामा सम्पर्कमा आएका १८९ जनाको वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामीको पुनः परीक्षण ९फलोअप० तथा व्यवस्थानका लागि उपत्यका बाहिर ११ र उपत्यकाभित्र पाँच गरी १६ वटा सरकारी अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गरी सेवा प्रवाह गरिरहेको मन्त्री डा गौतमले उल्लेख गर्नुभयो ।
मन्त्री गौतमले केही महत्वपूर्ण ऐनहरू (स्वास्थ्य बिमा ऐन, स्वास्थ्य सेवा ऐन, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन र स्वास्थ्यकर्मी सुरक्षा ऐन) अध्यादेशमार्फत संशोधन प्रक्रिया अगाडि बढाइएकामा मन्त्रिपरिषद्स्तरसम्म पुगेको जानकारी गराउनुभयो ।
उहाँका अनुसार वर्षौँदेखि हुन नसकेको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणलाई मूर्तरूप दिन १५ वटा निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वसहमति लिई छ वटा निकाय (स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र अन्तर्गतका कार्यालय, राष्ट्रिय औषधि प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, सिंहदरबार वैद्यखाना) को प्रतिवेदन सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।
साथै नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न राष्ट्रिय नवजात कार्ययोजना र मातृ तथा पेरिनेटल मृत्यु ९गर्भको २८औँ हप्तादेखि जन्मिएको सात दिनसम्मको अवधिमा हुने नवजात शिशुको मृत्यु० अनुगमन तथा प्रतिक्रिया प्रणाली १२१ वटा अस्पताल र ५२ जिल्लामा विस्तार गरिएको विवरण सार्वजनिक गरिएको छ ।
यसैगरी मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई सहज परामर्श उपलब्ध गराउन देशभरका सबै सङ्घीय अस्पतालहरूमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी सेवा सुरु गरिएको छ । औषधिको गुणस्तर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालाको क्षमतालाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन आवश्यक पूर्वाधार विकासको प्रक्रिया अघि बढाइएको छ ।
वैदेशिक रोजगारमा जाने श्रमिकलाई स्वास्थ्य बिमामा आवद्ध गराउने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वयमा वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि स्वास्थ्य परीक्षण सर्वसुलभ तथा गुणस्तरीय बनाउने, उपत्यका र उपत्यका बाहिरका सङ्घीय अस्पतालबाट टेलिमेडिसन (दूर चिकित्सा) सेवा विस्तार गर्ने विषयमा गृहकार्य भइरहेको मन्त्री डा गौतमले जानकारी दिनुभयो ।























