टिकटकको नयाँ गोपनीयता नीति : अमेरिकी प्रयोगकर्ताको ‘सटिक लोकेसन’ ट्र्याक गरिने


न्युयोर्क । चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी लगानीकर्ताहरूबिचको नयाँ साझेदारीपछि टिकटकले आफ्नो गोपनीयता नीतिमा ठुलो परिवर्तन गरेको छ । अब टिकटकले अमेरिकाका करिब २० करोड प्रयोगकर्ताको ‘प्रिसाइज’ अर्थात् एकदमै सटीक लोकेसन डाटा सङ्कलन गर्न सक्ने भएको हो ।यसअघि टिकटकले प्रयोगकर्ताको मोटामोटी स्थान मात्र ट्र्याक गर्ने अनुमति पाएकोमा अब डिभाइस सेटिङका आधारमा प्रयोगकर्ताको वास्तविक ठेगाना नै पत्ता लगाउन सक्ने गरी नीति परिमार्जन गरिएको हो।
टिकटकले यस्तो संवेदनशील जानकारी कानुन बमोजिम मात्र प्रयोग गरिने र प्रयोगकर्ताले चाहेको समयमा लोकेसन सेवा बन्द गर्न सक्ने स्पष्ट पारेको छ।
यो नयाँ व्यवस्था टिकटकको अमेरिकी व्यापार सञ्चालनका लागि बनेको ‘जोइन्ट भेन्चर’ सम्झौतापछि सार्वजनिक भएको हो । यसअघि टिकटकले सिमकार्ड वा आइपी एड्रेसका आधारमा स्थान पहिचान गर्ने गरे पनि पछिल्लो संस्करणमा जिपिएस डाटा सङ्कलन गरेको थिएन।
बेलायत र युरोपमा ‘नियरबाइ फिड’ फिचरका लागि पहिलेदेखि नै यस्तो डाटा लिने गरिएकोमा अब अमेरिकामा पनि यसलाई ऐच्छिक रूपमा लागू गरिने बताइएको छ। लोकेसनका साथै टिकटकले अब प्रयोगकर्ताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलहरूसँग गर्ने अन्तरक्रिया, सोधिएका प्रश्न र एआई सामग्री सिर्जना गरिएको समय तथा स्थानको जानकारी पनि सङ्कलन गर्ने अनुमति मागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सहजीकरण गरेको यो सम्झौतामा क्लाउड कम्प्युटिङ क्षेत्रको दिग्गज कम्पनी ओराकल, सिल्भर लेक र अबुधाबीको एमजीएक्स फन्ड मुख्य लगानीकर्ताका रूपमा रहेका छन्।
ओराकलले टिकटकको शक्तिशाली अल्गोरिदम र अमेरिकी प्रयोगकर्ताको डाटालाई आफ्नै क्लाउड वातावरणमा सुरक्षित राख्ने जिम्मा लिएको छ।
बाइटडान्सको हिस्सा अब २० प्रतिशतभन्दा कममा खुम्चिएको छ। वर्षौँदेखिको सुरक्षा चिन्ता र प्रतिबन्धको धम्कीपछि भएको यो सम्झौताले अमेरिकी प्रयोगकर्ताको डाटालाई चिनियाँ पहुँचबाट टाढा राख्ने र साइबर सुरक्षालाई मजबुत बनाउने दाबी गरिएको छ।























