नागरिक आवास कार्यक्रमका लागि रकम कटौती


भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आफैँ बजेट विनियोजन गरी शुक्रवारबाट रकम वितरण गर्न थालेको छ । पालिकाले विशेष अधिवेशनबाट एक करोड ५५ लाख २५ हजार रकम विनियोजन गरेको थियो ।
फुसको छानो हटाउने कार्यक्रममा पालिकाका ८७१ घरधुरी छनौट भएका थिए । जसमध्ये ७४२ घरधुरीले सम्झौता गरेकोमा ६०१ घरधुरीले जस्ता पाता फेरेपनि ३०१ घरधुरीले मात्र हालसम्म भुक्तानी लिएका छन् । गाउँपालिका अध्यक्ष थामबहादुर राईले ३०० घरधुरीले भुक्तानी लिन बाँकी रहेको र १४१ घरधुरीले बजेट अभावका कारण छाना फेर्न नसकेको बताए । भुक्तानी लिन बाँकी रहेको ३०० घरधुरीमध्ये २०७ घर धुरीको भुक्तानीका लागि एक करोड ५५ लाख २५ हजार बजेट सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
अध्यक्ष राईले भने, ‘सङ्घीय सरकारले आफूले गरेको निर्णय आफैँले कार्यान्वयन नगर्दा आज धेरै वटा स्थानीय सरकार आलोचित बन्नु परेको छ भने अर्कोतिर नागरिकले सास्ती व्यहोर्नु परेको छ । स्थानीय सरकारले नागरिकको समस्या मध्यनजर गर्दै पालिकाले नै स्रोत सुनिश्चित गरेका छौँ । पछि सङ्घीय सकारले बजेट निकास गरेको खण्डमा स्थानीय सरकारको आम्दानी जोड्ने छौँ ।’
भोजपुरलगायत अन्य धेरै स्थानीय तहमा फुसको छानो हटाउने कार्यक्रमको सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट बजेट निकास हुन नसक्दा लाभग्राही मारमा पर्दै आइरहेका छन् ।























