अमेरिका र टिकटकबिच कम्पनीको अमेरिकी कारोबार अलग्याउने सम्झौता


वासिङ्टन डीसी । अमेरिकी प्रशासनसँग लामो समयदेखि चल्दै आएको वार्तापछि टिकटकले आफ्नो अमेरिकी कारोबारलाई विश्वव्यापी व्यवसायबाट अलग गर्ने सम्झौता टुङ्गोमा पुर्याएको छ।
टिकटकले जारी गरेको वक्तव्यमा यो सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र ७५ लाखभन्दा बढी व्यवसायलाई टिकटकको प्रयोग निरन्तर गर्न सहज बनाउने बताइएको छ। “यसले प्रयोगकर्तालाई टिकटकको जीवन्त विश्वव्यापी समुदायमा सामग्री खोज्न, सिर्जना गर्न र फस्टाउन मद्दत गर्नेछ,” कम्पनीले भनेको छ।
यो सम्झौताको मुख्य उद्देश्य टिकटकमाथिको चिनियाँ स्वामित्व र प्रभाव कम गर्नु हो। टिकटकको मूल कम्पनी बाइटडान्स चिनियाँ कम्पनी भएकाले अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा जोखिमको कारण देखाउँदै एप प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको थियो। ह्वाइट हाउसले गैर–चिनियाँ संस्थालाई बिक्री नगरे टिकटकमाथि प्रतिबन्ध लगाउने स्पष्ट सन्देश दिएको थियो।
गत महिना बाइटडान्सले अमेरिकी तथा विश्वव्यापी लगानीकर्तासँग सम्झौताहरू गरेर अमेरिकामा आफ्नो व्यवसाय निरन्तर चलाउने बाटो खोजेको थियो। नयाँ सम्झौतासँगै टिकटकले अमेरिकामा आफ्नो भविष्य सुरक्षित गरेको मानिएको छ।






















