कञ्चनपुरका ६६ मतदानस्थल अति संवेदनशील

रासस
२०८२ माघ ८ | मध्यान्ह ०३:१० बजे

दोधारा चाँदनी (कञ्चनपुर), माघ ८। जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार १३२ मतदानस्थलमध्ये ६६ वटालाई अति संवेदनशील, ४० संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । “हामीले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरेका छौँ । यसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिनेछन्”, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रूपमा रहेका छन् ।”
तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं १ मा ३४ वटा अतिसंवेदनशील, क्षेत्र नं २ मा १७ वटा अतिसंवेदनशील र क्षेत्र नं ३ मा १५ वटा अतिसंवेदनशील मतदानस्थल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















