भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

रासस
२०८२ माघ ५ | मध्यान्ह ०३:१० बजे

गोरखा, माघ ५। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
संसद् बाहिरबाट भन्दा संसद्भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ थियो । लामो छलफलपछि उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो ।


















