कृषि

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

रासस
२०८२ माघ ३ | मध्यान्ह ०५:१० बजे

धुलिखेल, माघ ३। आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् ।गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफीखेती सुरु गर्नुभएको छ ।

मल्चिङ विधिबाट खेती गर्दा मल नबगाउने, झार नउम्रिने र ओसिलोपन व्यवस्थापन हुने भएकाले यो प्रविधि उपयोगी भएको उहाँले बताउनुभयो । त्यससँँगै थोपा सिँचाइ प्रविधि पनि प्रयोग गरिएको छ । यसरी खेती गर्दा चाँडो फल लाग्ने र त्यो गुणस्तरीय हुने उहाँले बताउनुभयो ।

महाभारत गाउँपालिका–२ सोक्तेलका कफी उत्पादक किसानहरुले पनि छहारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । छहारी व्यवस्थापनबाट बिरुवा निरोगी हुने र चेरी पनि गुणस्तरको हुने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाले कफी उत्पादन र प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा समुदायमा आधारतिर ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरेको गाउँपालिकाका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताउनुभयो ।

गाउँपालिकाको तीन हजार २०० रोपनीमा कफीको व्यावसायिक कफीखेती विस्तार भइरहेको छ । विसं २०७८ सालदेखि यहाँका कफी किसान, कृषि सहकारी र समूहलाई गरेर तीन लाख ३१ हजार भन्दा बढी विरुवा वितरण गरिसकेको महाभारत गाउँपालिकाले जनाएको छ । पालिकाबाट बोट वितरणका लागि ७८ हजार बोट उत्पादन भएका छन् ।

गाउँपालिकाले किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट रु २० का दरले अनुदान दिने व्यवस्था गर्दै आएको छ । सबैजसो किसान कफी खेतीतर्फ आकर्षित हुन थालेपछि पालिकाले अनुदानमा कफीको बोट वितरण र आवश्यक उपकरण वितरण गर्नाका साथै अनुदानमा प्रशोधन उपकरण वितरणलाई पनि जोड दिँदै आएको छ । 

कमेन्टहरु