देश

लगानी प्रतिबद्धतापछि ताइवानी सामानमा अमेरिकाले घटायो ट्यारिफ

रासस
२०८२ माघ २ | बिहान ११:१० बजे

वासिङ्टन डीसी । अमेरिकाले ताइवानबाट आयात हुने सामानमा लगाइने कर घटाएर १५ प्रतिशतमा झार्ने सहमति गरेको छ । यसका बदलामा ताइवानका सेमिकन्डक्टर तथा प्रविधि कम्पनीहरूले अमेरिकामा सयौँ अर्ब डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार ताइवानका सेमिकन्डक्टर र प्रविधि कम्पनीहरूले अमेरिकामा कम्तीमा २५० अर्ब अमेरिकी डलर बराबरको नयाँ तथा प्रत्यक्ष लगानी गर्ने सहमति गरेका छन् ।

सम्झौताअन्तर्गत अमेरिकामा लगानी गर्ने ताइवानका सेमिकन्डक्टर कम्पनीहरूलाई केही कर छुट पनि दिइनेछ । कोभिड–१९ महामारीका समयमा चिप्सको अभाव हुँदा आपूर्ति शृङ्खलामा देखिएको जोखिमपछि अमेरिकाले स्वदेशमै सेमिकन्डक्टर उत्पादन बढाउने विषयलाई उच्च प्राथमिकता दिँदै आएको छ । कारदेखि स्मार्टफोनसम्म प्रयोग हुने सेमिकन्डक्टर चिप्सको घरेलु उत्पादन बढाउन यो सम्झौता महत्त्वपूर्ण मानिएको छ ।

 

यो सम्झौताले अमेरिकालाई चिप उत्पादनमा आत्मनिर्भर बनाउने सीएनबीसीसँगको अन्तर्वार्तामा वाणिज्यमन्त्री होवार्ड लुटनिकले बताए । ‘हामी सबै उत्पादन यहाँ ल्याउँदैछौँ,’ उनले भने । पछिल्ला वर्षहरूमा अमेरिकी सरकारले चिप उद्योगलाई प्रवर्द्धन गर्न सयौँ अर्ब डलर बराबरको अनुदान दिइरहेको छ । यसले ताइवानको अग्रणी सेमिकन्डक्टर निर्माता टीएसएमसी जस्ता कम्पनीहरूलाई अमेरिका भित्र लगानी विस्तार गर्न प्रोत्साहन गरेको छ ।

 

बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले अमेरिकामा आफ्नो लगानी अझ तीव्र बनाइरहेको जनाएको छ । टीएसएमसीले २०२४ मा एरिजोनामा खोलेको कारखानामा हाल एनभिडिया, एप्पल, एएमडीलगायत प्रमुख अमेरिकी प्रविधि कम्पनीका लागि चिप्स उत्पादन भइरहेको छ । उक्त कारखाना बाइडेन प्रशासनकालमा स्वीकृत ४० अर्ब डलरको सरकारी अनुदान सहयोगमा निर्माण गरिएको हो ।

लुटनिकका अनुसार पछिल्लो व्यापार सम्झौताले टीएसएमसीलाई थप विस्तारतर्फ उन्मुख गराउन सक्छ र साना आपूर्तिकर्ता कम्पनीहरूलाई पनि अमेरिका सर्न प्रेरित गर्दै सम्पूर्ण सेमिकन्डक्टर आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राखिएको छ ।

कमेन्टहरु