लाबुबु खेलौनाका निर्मातामाथि श्रम शोषणको आरोप


काठमाडौँ । भाइरल लाबुबु खेलौना बनाउने चीनको एउटा कारखानाले श्रमिकहरूमाथि शोषण गरेकाे आराेप लागेकाे छ । पप मार्टका आपूर्तिकर्तामध्ये एक शुन्जिया टोयज कम्पनी लिमिटेडको एउटा कारखानामा कामदारहरूमाथि शोषण भएको प्रमाण आफूले फेला पारेको अमेरिकी गैर–सरकारी संस्था चाइना लेबर वाच (सीएलडब्ल्यू)ले बताएको छ ।
कारखानामा कामदारलाई ओभरटाइममा धेरै नै काम गराइने, खाली वा अधुरो सम्झौतामा हस्ताक्षर गराइने तथा तलबसहितको बिदा दिने नगरिएको पाइएको सीएलडब्ल्यूको भनाइ छ । हालैका वर्षहरूमा विश्वभर लाबुबुको लोकप्रियता बढेको छ । कम्पनीलाई माग धान्ने हम्मे हम्मे परिरहेको छ ।
सीएलडब्ल्यूका अनुसार ग्वाङडोङ प्रान्तस्थित शुन्जिया टोयज कम्पनी लिमिटेडको कारखानामा ५१ जना कामदारसँग प्रत्यक्ष अन्तर्वार्ता लिइएको थियो । त्यहाँ ४ हजार ५०० भन्दा बढी कामदार कार्यरत रहेको र त्यहाँको ओभरटाइम समय अवैध रहेको, अस्पष्ट श्रम सम्झौतामा हस्ताक्षर गरेर कामदारलाई राखिने अनि सुरक्षा तालिमको अभाव रहेको पनि कुराकानीका क्रममा कर्मचारीले बताएको भनिएको छ ।
कारखानामा बाल श्रमिकको प्रयोग गरेको नपाइएको भए पनि १६ वर्षे कामदारहरूलाई विशेष संरक्षणबिनै वयस्कसरह काम गराइएको भनिएको छ । आरोपबारे छानबिन भइरहेको बताउँदै दाबी सही ठहरिए आपूर्तिकर्तालाई सुधारका लागि कडाइका साथ निर्देशन दिने पप मार्टले जनाएको छ ।























