नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण


नवलपुर (नवलपरासी), पुस ३०। गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ ।
यसअघि देवघाट जान नवलपुरको कलीगण्डकी करिडोर हुँदै एवं चितवनको आँपटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट जानुपर्ने बाध्यता थियो । गैँडाकोट–१ र गैँडाकोट–३ लाई जोड्नेगरी पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै सिधै देवघाट पुग्न सकिने वातावरण सृजना भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि देवघाट पुग्न सकिने उहाँले बताउनुभयो ।
देवघाट जाने तीर्थयात्रीका लागि कालीगण्डकी नदीको केलादीघाटमा स्नान गर्ने व्यवस्था गरिएको भन्दै उहाँले यहाँबाट देवघाटको बेणी सङ्गमा जान पक्की पुल तथा डुङ्गा प्रयोग गर्न सकिने बताउनुभयो । सवारीसाधन पार्किङका लागि केलादी बसपार्कलाई प्रयोग गर्न सकिने भन्दै उहाँले देवघाटमा माघ स्नानका लागि नवलपुरतर्फको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
देवघाटधामको बेणी सङ्गममा आज बिहान बाँसको लिङ्गो गाडेर मकरस्नान सुरु गर्ने वैदिक परम्परा छ । गोसाईँकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानका रूपमा रहेको दवघाटधामको बेणी सङ्गममा मकरस्नान सुरु गर्न यहाँका वैदिक आश्रमका बटुक तथा पीठाधीश, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र भक्तजनको सहभागिता रहने गर्दछ । देवघाटमा माघेसङ्क्रान्ति स्नानका लागि नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजन पनि आउने गरेका छन् ।























