दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

दुबईमा नवौँ भक्का दिवस २०२६ भव्य रूपमा सम्पन्न

कबिराज राजबंशी
२०८२ पुस २९ | बिहान ०२:०९ बजे

FB IMG 1768248259285

दुबई, ११ जनवरी — मातृभूमिबाट टाढा रहे पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने दृढ अठोटसहित संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्ने कोच समुदायले नवौँ भक्का दिवस २०२६ उत्साहपूर्ण र भव्य रूपमा मनाएका छन्।

 

दुबईको अल शिफ क्षेत्र नजिकै आयोजित क्रुज शिपमा सम्पन्न कार्यक्रममा कोच समुदायले मौलिक खानपान, परम्परागत भेषभूषा, लोकसंगीत र भाषामार्फत आफ्नो सांस्कृतिक पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेका हुन्। कार्यक्रम ११ जनवरी, आइतबार आयोजना गरिएको थियो, जुन यूएईमा कार्यरत आप्रवासी कामदारहरूलाई सहज हुने साप्ताहिक बिदाको दिन पारेर तय गरिएको थियो। नेपालमा हरेक वर्ष पुष २९ गते राष्ट्रिय भक्का दिवस मनाइने परम्परा रहे पनि, यूएईमा रहेका कोच, राजवंशी र ताजपुरिया समुदायका सदस्यहरू अजमान, अबुधाबी, शारजाह र दुबईबाट एकत्रित भई परदेशमै भक्का दिवस मनाउन जुटेका थिए।

FB IMG 1768248262552

कार्यक्रममा महिलाहरू परम्परागत पेटानी पहिरन र चाँदीका गरगहनामा सजिएका थिए भने पुरुषहरू धोती र गम्छामा देखिन्थे। यसले कार्यक्रम स्थललाई नै कोच संस्कृतिको जीवन्त प्रतिबिम्ब बनाइदिएको सहभागीहरूले बताएका छन् ।कार्यक्रमको मुख्य आकर्षण भक्का र माछाका परिकारसहितको नेपाली–कोच भोजन रहेको थियो। परम्परागत भक्काको तयारी तथा विशेष माछा परिकारमा आकाश राजवंशी, भीम राजवंशी, उदय राजवंशी र फाल्टु राजवंशी स्वयंसेवकका रूपमा सक्रिय थिए।

 

सांस्कृतिक कार्यक्रममा गायक गौतम राजवंशी र नारायण राजवंशीले मौलिक कोच भाषाका गीत प्रस्तुत गर्दा दर्शक भावविभोर बने। त्यसैगरी सन्ध्या, पूजा, पूर्णिमा, अनु, संगिता, सन्तोषी, मेनुका, अस्मिता र सुस्मिता राजवंशीले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनायो। कार्यक्रमको उद्घाटन मन्तव्य समिर राजवंशीले दिएका थिए भने समापन तथा धन्यवाद मन्तव्य कोच राजवंशी समाज यूएईका अध्यक्ष भारत राजवंशीले व्यक्त गरे। कार्यक्रम सञ्चालन दिपेश ताजपुरियाले गरेका थिए।

 

कार्यक्रम कोच राजवंशी समाज यूएईको आयोजनामा सम्पन्न भएको हो भने सहयोगी तथा सामाजिक सञ्जाल साझेदारका रूपमा ताजपुरिया संसार रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा समाजका ज्येष्ठ व्यक्तित्व, सामाजिक अभियन्ता तथा विभिन्न कोच, राजवंशी र ताजपुरिया समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूका अनुसार कार्यक्रमले एउटै स्पष्ट सन्देश दिएको थियो ।

“परदेशमा रहे पनि कोच भाषा, संस्कृति र पहिचान मर्न दिइँदैन।” परदेशको व्यस्त जीवनबीच यस्तो सांस्कृतिक कार्यक्रमले “घर नेपाल सम्झाइदिएको” अनुभूति गराएको बताउँदै सहभागीहरूले आगामी वर्षहरूमा भक्का दिवस अझ व्यापक र संगठित रूपमा मनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कमेन्टहरु