अमेरिकासँग वार्ताका लागि इरान तयार


तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आपसी सम्मान र हितका आधारमा अमेरिकासँग वार्ता गर्न इरान तयार रहेको बताएका छन् ।इरानमा तीन सातादेखि जारी हिंसात्मक प्रदर्शनकै बिच तेहरानमा सोमबार आयोजित विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा विदेशमन्त्री अराघचीले वार्ताका लागि आफूहरू तयार रहेको बताएका हुन् । ‘मैले बारम्बार भनेझैँ हामी वार्ताका लागि तयार छौँ, तर समान हैसियतबाट, आपसी सम्मानसहित र आपसी हितमा आधारित, निष्पक्ष र मर्यादित वार्ता हुनुपर्छ,’ उनले भने ।
इरानी विदेशमन्त्रीका यी अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानले वार्ताका लागि फोन गरेको बताएलगत्तै आएको हो । ट्रम्प प्रशासनले तेहरानमा भएको प्रदर्शनपछि हस्तक्षेपका लागि सम्भावित सैन्य विकल्पबारे विचार गरिरहेको जनाएको थियो ।
इरान सरकारले अघिल्ला केही महिनादेखि नै वार्ताका लागि आफ्नो तयारी पटक–पटक व्यक्त गर्दै आएको छ ।इरानी विदेश मन्त्रालयका एक प्रवक्ताले विदेशमन्त्री अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकोफबिचको सञ्चार माध्यम खुला नै रहेको र आवश्यक पर्दा उक्त माध्यमबाट सन्देशहरू आदान–प्रदान हुने जानकारी दिए ।
अमेरिका र इरानबिच गत वर्ष इरानको आणविक कार्यक्रमबारे अप्रत्यक्ष वार्ता भएको थियो । सन् २०२५ को सुरुआतमा वार्ताका धेरै चरण सम्पन्न भए पनि त्यसपछि इजरायलले इरानमाथि ठुलो स्तरको आकस्मिक आक्रमण सुरु गरेपछि अमेरिका पनि आक्रमणमा संलग्न भएको थियो ।तेहरानले युरेनियम समृद्धिकरण पूर्ण रूपमा बन्द गर्न र मिसाइल कार्यक्रममाथि सीमाहरू स्वीकार गर्न ट्रम्प प्रशासनले राखेका माग अस्वीकार गरेको छ ।























