चितवनमा आगन्तुक जलपक्षी गणना सकियो


चितवन, पुस २८। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ । यही पुस २४, २५ र २६ गते (जनवरी ८, ९ र १० तारिख) जिल्लामा जलपक्षी गणना गरिएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ ।
वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमासमेत गणना गरिएको छ । वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पैदल, डुङ्गाको सहायता र गाडीबाट चरा गणना गरिएको हो ।
बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडर लगायतको प्रयोग गरी चराको गणना गरिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । सङ्घका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै हो ।
नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया,मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उहाँले जानकारी दिनुभयो । चिसो छल्नका लागि चरा यहाँ आउने गरेको विडारीले बताउनुभयो । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ ।























