समाज

रास्वपा, बालेन र कुलमानलक्षित ओलीले भने– पपुलिस्टले जोखिम निम्त्याउन सक्छन्

एजेन्सी
२०८२ पुस २६ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस २६। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिको पुनरागमन हुने देखिएपछि विध्वंसका पक्षधर एकजुट भएको टिप्पणी गरेका छन् । शनिबार (पुस २६) च्यासलमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकतालक्षित यस्तो टिप्पणी गरेका हुन् ।

धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंसलाई वैधता दिनेहरू एकजुट भएको उनले आरोप लगाए ।
उनले ‘पुराना’ र ‘नयाँ दल’बीचको ध्रुवीकरणका रूपमा बहस गर्ने गरिएको उनले बताए । वास्तविक ध्रुवीकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंसलाई वैधता दिने कि नदिने भन्नेहरूका बीचमा भएको उनले जिकिर गरे ।

उनले लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्र बलियो हुने बताए । हाल विचार, सार्वजनिक जवाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू संगठित भएर लोकतान्त्रिक प्रणाली, संस्थामाथि चुनौती दिइरहेको उनले टिप्पणी गरे ।

‘अवतारी नायक’ जन्मिएर सबै समस्या तुरुन्त समाधान हुन्छ भन्ने भ्रम फैलाइँदै गएको भन्दै उनले सचेत रहन पनि आग्रह गरे । विध्वंस र ‘पपुलिज्म’ कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने उनको भनाइ थियो ।

उनले पपुलिज्मले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताए । पपुलिजमले सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने हुँदा नेपालमा गम्भीर भूराजनीतिक जोखिम समेत निम्त्याउन सक्ने उनले चेतावनी दिए ।

बैठकमा केपी ओलीको भनाइ पढ्नोस्

राजनीतिक ध्रुवीकरण पनि तीव्र भएको छ । एकातिर पुराना दल र अर्कातिर नयाँ दलबीचचको ध्रुवीकरण भनेर चर्चा गरिए पनि यति बेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा या मुद्दामा होइन, भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनर्स्थापित गर्ने भन्ने विषयमा राजनीति धु्रवीकृत हुन थालेको छ । धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि र आफूहरूले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरूले पुनरागमन गर्ने देखेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको अवस्था छ । राजनीतिक पार्टीहरूकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुन्छ । तर, यति बेला विचारविहीन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादस्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरूलाई चुनौती दिइरहेको अवस्था छ । कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरूले हेर्दा हेर्दै समस्याहरूको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदै छ । तर, न त विध्वंस आन्दोलन हो न पपुलिज्म नै अग्रगामी विकल्प । पपुलिज्मले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र पपुलिज्म, सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंस र यही हो सिलसिला १ थप समस्या जन्माउँदै जान्छ । सत्तामा जान जस्तोसुकै भावना पनि बेच्ने र जस्तोसुकै सम्झौता गर्ने पपुलिस्ट पात्रहरूले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन् । त्यसैले यति बेला भदौ २४ को विध्वंसको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्यत र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिस्ट र पथभ्रष्ट तत्त्वहरूबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ । 

कमेन्टहरु