अन्तरिक्षयात्रीको स्वास्थ्यमा समस्या देखिएपछि रद्द भयो नासाको ‘स्पेस वाक’


वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाले वर्षको पहिलो स्पेस वाक (अन्तरिक्ष यात्रा) रद्द गरेको छ । नासाको स्पेसएक्स क्रु–११ मिशनमा सहभागी एक अन्तरिक्षयात्रीको स्वास्थ्यमा समस्या देखिएपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट सो क्रुलाई चाँडै पृथ्वी फर्काउने तयारी गरिएको हो । नासाले सम्बन्धित अन्तरिक्षयात्रीको पहिचान सार्वजनिक गरेको छैन ।
क्रु–११ का एक सदस्यको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबारका लागि तय गरिएको अन्तरिक्ष पदयात्रा स्थगित गरिएको नासाले जनाएको छ । स्वास्थ्य समस्या के हो भन्नेबारे भने एजेन्सीले खुलाएको छैन । यद्यपि, ती अन्तरिक्षयात्रीको अवस्था हाल स्थिर रहेको र पृथ्वीमा नफर्किँदासम्म विशेष उपचार आवश्यक नपर्ने नासाका स्वास्थ्य प्रमुख तथा मुख्यालयका मेडिकल अधिकारी डा. जेम्स पोल्कले बताएका छन् ।
अमेरिका, जापान र रूसका चार सदस्यीय अन्तरिक्ष दल अगस्टदेखि आईएसएसमा रहेका छन् । क्रु–११ अगस्ट २०२५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेको थियो । उनीहरू करिब छ महिनाका लागि त्यहाँ रहने योजना थियो ।
नासाका नयाँ प्रमुख जारेड आइज्याकम्यानले क्रु–११ लाई चाँडै फिर्ता ल्याउन निर्देशन दिइसकेका छन् । उनीहरू केही दिनमै पृथ्वी फर्कने बताइएको छ । आगामी केही हप्ताभित्र क्रु–१२ मिशनअन्तर्गत नयाँ चार सदस्यीय टोली आईएसएस पठाइनेछ । फर्किन लागेको टोलीको सट्टा नयाँ टोली आईएसएस पुगेपछि ह्यान्डओभर प्रक्रिया पूरा नभएसम्म नासाले यस्तो कदम चाल्दैन ।























