टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित


चौतारा, पुसः२५ । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।
लामिडाँडामा सुरुमा तीन घरले सुन्तला रोप्ने अभियान थालेका थिए । हाल हरेकजसो घरमा १५ देखि ५० बोटसम्म सुन्तला छन् । तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या छ । मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले ‘कीरा–रोग’ को ठूलो महामारी बनेको छ । असिनाले फूल नष्ट गर्नेदेखि वर्षात्ले असर पारेको छ भने पहिले जस्तो पानी नपर्ने र परिहालेमा ठूलो पर्ने समस्या छ । यो बदलिँदो मौसमले उत्पादनमा नकारात्मक प्रभाव परेको स्थानीय किसान धनबहादुर तामाङ बताउनुहुन्छ ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारी रोगकीराले सङ्क्रमित फल माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने बताउनुहुन्छ । झरेका फलका लार्भा माटोभित्र गइ अर्को वर्ष झनै ठूलो प्रकोप ल्याउनसक्ने भएकाले लार्भालाई माटोमै सड्न दिन नहुने उहाँले बताउनुभयो । रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने उहाँको भनाइ छ ।























