दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ


दार्चुला, पुस २५। जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठ भवन निर्माणको लागि दोस्रोपटक म्याद थपका लागि प्रक्रिया अघि बढेको सुनाउनुहुन्छ । निर्माण कम्पनीबाट विभागमा म्याद थपका लागि फाइल गएको छ । “अहिलेको मितिमा म्याद थप गरिएको पत्र हामी कहाँ आइपुगेको छैन”, इन्जिनियर श्रेष्ठले भन्नुभयो ।
अस्पताल भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समेत समस्या देखिएको अस्पताल प्रशासने जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका डा रवीन्द्र भट्टराईका अनुसार भवन नहुँदा सेवा अझै व्यवस्थित रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ । “यदि भवन समयमै निर्माण भएको भए सेवा सञ्चालन धेरै सहज हुने थियो”, उहाँले भन्नुभयो, “अहिले अस्थायी संरचनामै बिरामीको उपचार गर्नुपरेको छ ।”
डा भट्टराईका अनुसार एकै ठाउँमा व्यवस्थित भवन नहुँदा रेखदेख गर्नसमेत समस्या भइरहेको छ । चिसो मौसममा पक्की भवन नहुँदा बिरामीको उपचार प्रभावित भइरहेको छ भने जटिल अप्रेसन तथा आवश्यक जाँचमा समेत कठिनाइ हुने गरेको छ ।
दैनिक दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जिल्ला अस्पतालमा भवन नहुँदा अन्तरङ्ग ९इन्डोर० सेवा सञ्चालनमा समस्या देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भवन अभावका कारण प्रसूति सेवा, आइसियू, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड जस्ता सेवा सञ्चालनमा कठिनाइ छ । अहिलेकै अवस्थामा भवन निर्माण हुने हो भने अझै तीन वर्ष समय लाग्ने देखिएको छ ।
अहिलेको अस्पताल काम चलाउ भवनमा सञ्चालन भइरहेको हो । चाँडै भवन निर्माण सकिएको भए जिल्ला अस्पतालको सेवा अझै प्रभावकारी हुने सूचना अधिकारी भट्टको भनाइ छ । साँघुरो कोठामा सञ्चालन भइरहेका अन्तरङ्ग सेवाका कारण बिरामीमा सङ्क्रमणजन्य रोग फैलिने जोखिमसमेत बढेको अस्पताल प्रशासनको भनाइ छ ।
सरोकारवालाहरूले निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् । अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । नागरिक समाजका संयोजक महेश भट्टका अनुसार निर्माण व्यवसायी फिल्डमा नै नदेखिने र काम गरेको जस्तो मात्र देखाउने प्रवृत्ति हाबी छ । अस्पताल जस्तो संवदेनशील ठाउँमा निर्माण कम्पनीले समेत लापरबाही गरेको प्रस्टै छ ।
“भवन जस्ताको त्यस्तै हुँदा जिल्लाबासीले उपचारमा समस्या भोग्नुपरेको छ”, उहाँले भन्नुभयो, “समयमै कामन गर्ने निर्माण कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्न दबाब दिनुपर्ने अवस्था आइसकेको छ ।” स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निर्माण व्यवसायी र आयोजना कार्यालयले गम्भीर लापरबाही गरेको उहाँको आरोप छ ।
उन्नचालिस वर्षदेखि अस्पताल निमित्तकै भरमा
जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० को दरबन्दी रिक्त छ । विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो । अस्पतालका निमित्त कार्यालय प्रमुख डा भट्टराईकाअनुसार अस्पतालमा दरबन्दीको जनशक्ति अभाव अझै छ ।
बाइस स्थायी दरबन्दीमध्ये हाल १३ जना मात्रै पदपूर्ति भएका छन् । मेडिकल सुपरिटेन्डेन्टदेखि रेडियोग्राफर, एचए, कार्यालय सहयोगीसम्मका पद रिक्त छन् । बिरामीको चापका कारण स्वीकृत १५ शय्याको जिल्ला अस्पताललाई हाल ३५ शय्यामा सञ्चालन गर्नुपरेको छ । भवन नहुँदा पनि जेनतेन काम चलाउ व्यवस्थापन गरिएको छ ।
अहिले अस्पताल छात्रवृत्ति, करार, प्रदेश करार तथा विभिन्न संस्थाको सहयोगमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । हाल अस्पतालमा ६३ दरबन्दीका लागि ९५ जना कार्यरत छन् । अहिलेको अवस्थामा हेर्दा एक जना डाक्टरले औसतमा २१५ बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । भारतसँग सीमा जोडिएको दार्चुलाको अस्पताल सुदृढीकरणका लागि सबै पक्षको सहयोग र समन्वय भयो भने अझै व्यवस्थित रुपमा सञ्चालनगर्न कुनै समस्या नहुने डा भट्टराईको भनाइ छ ।























