विदेशी दलाल सरकारको संज्ञा दिदै समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन अस्वीकार गर्न गर्याे अपिल


विदेशीको दलाल सरकार भएको संज्ञा दिदै समाजवादी कम्युनिस्ट पार्टी नेपालले यहीँ फागुन २१ गते हुने निर्वाचनलाई अस्वीकार गर्न अपिल जारी गरेको छ । उक्त पार्टीले `प्रतिगामी सरकारको निर्वाचन अस्वीकार किन ? १. विदेशी डिजाइनमा देश जलाएर खरानीको व्यापार गर्न बनाइएको असंवैधानिक सरकारले गर्न गइरहेको निर्वाचनको उद्देश्य देश जलाउने अपराधलाई अनुमोदन गराउनु हो । कुनैपनि सच्चा देशभक्त नेपालीले यस्तो देशद्रोही अपराधलाई अनुमोदन गर्नु हुँदैन । २. वैदेशिक शक्तिकेन्द्रद्वारा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै यो कठपुतली सरकारको निर्माण भएको छ र दलीय भूमिकालाई निषेध गरिएको छ । त्यसैले राष्ट्रिय स्वाधीनता र जनाधिकार दुवै दृष्टिले यो प्रतिगमन हो । यो प्रतिगमनलाई अनुमोदन गराउनु यो निर्वाचनको उद्देश्य हो। कुनै पनि देशभक्त, वामपन्थी र लोकतन्त्रवादीले यसलाई अनुमोदन गर्नु हुँदैन । ३. यो निर्वाचन सुशीला सरकारको स्वविवेक वा चाहनामा मात्र निर्भर छैन । वैदेशिक शक्तिकेन्द्रले आफ्ना डिजाइनभित्रका पात्रहरूलाई निर्वाचित गराउने आधार सुनिश्चित गरेर मात्र निर्वाचन हुनेछ । त्यसैले यो निर्वाचन फगत नौटङ्कीबाहेक अरु केही होइन। यस्तो नौटङ्कीलाई सघाउ पुन्याएर आफ्नै विरुद्धको षड्यन्त्रलाई सफल बनाइदिने गल्ती गर्नु हुँदैन ।´ भन्दै अपिल गरेको छ । उक्त पार्टीले जारी गरेको अपिल जस्ताको त्यस्तै
`प्रतिगामी सरकारको चुनाव अस्वीकार गरौं ! स्वाधीन राष्ट्र निर्माणको बाटोमा अघि बढौं !!
यतिबेला हाम्रो देश इतिहासकै सबैभन्दा जटिल मोडमा पुगेको छ । विगत लामो समयसम्म सरकारको नेतृत्व गरेका संसदवादी दलहरू असफल भएपछि उनीहरूप्रति जनतामा वितृष्णा, निराशा र आक्रोश पैदा भयो। जनताले पुराना दलहरूको विकल्पमा नयाँ अनुहार खोज्ने अवस्था बन्यो। जनताको यही मनोविज्ञान र चाहनाबाट नाजायज फाइदा उठाउँदै वैदेशिक शक्ति केन्द्रहरू नेपालको राष्ट्रिय राजनीतिभित्र प्रवेश गरे र नयाँ अनुहारको रूपमा आफ्ना प्यादाहरू खडा गरे । ती प्यादाहरूले समाजलाई ‘पपुलिज्म’को हुण्डरीमा हालेर दिशाविहीन बनाउन निकै जोड गरे। वैदेशिक शक्तिकेन्द्रको डिजाइनमा सिङ्गारिएका ती कथित ‘सेलिब्रेटी’हरू आज देश जलाउन प्रयोग भएको तथ्य सबैको अगाडि छर्लङ्गै छ ।
देश जलाउने वातावरण तयार गर्न उनीहरूले हाम्रा कलिला भाइबहिनीहरूलाई ढाल बनाए । यसक्रममा झण्डै ७ दर्जनको ज्यान गयो भने हजारौंलाई घाइते बनाए । यसरी युवा विद्यार्थीहरूको रगतमा होली खेल्दै विदेशीको डिजाइनमा सुशीला कार्की नेतृत्वको कठपुतली सरकार बन्यो। युवा विद्यार्थीको बलिदानबाट जन्मिएको भनिएको यो कठपुतली सरकारले आज तिनै युवा विद्यार्थीलाई नै अपमान गरिरहेको छ ।
असफल दल र नेताहरूको विकल्प विचारविहीन चटकेहरू कदापि हुन सक्तैनन् । विचारविहीन चटकेको भरोसा गर्दा युक्रेनी जनताले भोग्नु परेको दुर्दशा हामी सबैले देखेकै छौं । हाम्रो देशलाई सुसङ्गत राजनीतिक विचार र दृष्टिकोणसहितको निष्ठावान नेतृत्वको खाँचो छ। स्वाधीन र समुन्नत राजनीतिक प्रणालीको खाँचो छ । यसर्थ, हामी समाजवादी गन्तव्यसहित स्वाधीन राष्ट्र निर्माणको बाटोमा अघि बढ्न आह्वान गर्दछौँ ।
कठपुतली सरकारले आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । एकातिर घोषित मितिमा निर्वाचन हुने कुरा जनताले पत्याएका छैनन् भने अर्कोतिर यो निर्वाचन हुने वा नहुने वा कहिले हुने भन्ने कुराको टुङ्गो विदेशी डिजाइनमा निर्भर हुनेछ । त्यसैले हाम्रो पार्टीले यो कठपुतली सरकारद्वारा गरिने निर्वाचन औचित्यहीन रहेको ठहर गर्दै यसलाई दृढतापूर्वक अस्वीकार गर्ने घोषणा गर्दछ । प्रतिगामी सरकारद्वारा गराइने यो औचित्यहीन निर्वाचनमा सहभागी नहुन सबै राजनीतिक दलहरूलाई अनुरोध गर्दछौँ। साथै, यो निर्वाचनलाई अस्वीकार गर्न सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ।
प्रतिगामी सरकारको निर्वाचन अस्वीकार किन ?
१. विदेशी डिजाइनमा देश जलाएर खरानीको व्यापार गर्न बनाइएको असंवैधानिक सरकारले गर्न गइरहेको निर्वाचनको उद्देश्य देश जलाउने अपराधलाई अनुमोदन गराउनु हो । कुनैपनि सच्चा देशभक्त नेपालीले यस्तो देशद्रोही अपराधलाई अनुमोदन गर्नु हुँदैन ।
२. वैदेशिक शक्तिकेन्द्रद्वारा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै यो कठपुतली सरकारको निर्माण भएको छ र दलीय भूमिकालाई निषेध गरिएको छ । त्यसैले राष्ट्रिय स्वाधीनता र जनाधिकार दुवै दृष्टिले यो प्रतिगमन हो । यो प्रतिगमनलाई अनुमोदन गराउनु यो निर्वाचनको उद्देश्य हो। कुनै पनि देशभक्त, वामपन्थी र लोकतन्त्रवादीले यसलाई अनुमोदन गर्नु हुँदैन ।
३. यो निर्वाचन सुशीला सरकारको स्वविवेक वा चाहनामा मात्र निर्भर छैन । वैदेशिक शक्तिकेन्द्रले आफ्ना डिजाइनभित्रका पात्रहरूलाई निर्वाचित गराउने आधार सुनिश्चित गरेर मात्र निर्वाचन हुनेछ । त्यसैले यो निर्वाचन फगत नौटङ्कीबाहेक अरु केही होइन। यस्तो नौटङ्कीलाई सघाउ पुन्याएर आफ्नै विरुद्धको षड्यन्त्रलाई सफल बनाइदिने गल्ती गर्नु हुँदैन ।
समाजवादी कम्युनिस्ट पार्टी नेपाल
केन्द्रीय समिति´
























