हुन्डाईले अमेरिकामा मानवरूपी रोबोट ‘एटलास’ परिचालन गर्ने


जर्जिया। हुन्डाई मोटर ग्रुपले अमेरिकाको जर्जियास्थित आफ्नो उत्पादन प्लान्टमा मानिस जस्तै देखिने (ह्युम्यानोइड) रोबोटहरू परिचालन गर्ने घोषणा गरेको छ। लस भेगासमा जारी ‘कन्जुमर इलेक्ट्रोनिक्स शो’ (सीईएस) का क्रममा सोमबार दक्षिण कोरियाली कम्पनी हुन्डाईले बोस्टन डायनामिक्सद्वारा विकसित ‘एटलास’ रोबोट सार्वजनिक गरेको हो।
यी रोबोटहरूलाई मानिसहरूसँगै मिलेर काम गर्न र स्वायत्त रूपमा मेसिनहरू चलाउन सक्ने गरी डिजाइन गरिएको छ। कम्पनीले यस प्रविधिले कामदारहरूको शारीरिक श्रम कम गर्ने र खतरनाक कामहरू सुरक्षित रूपमा सम्पन्न गर्न मद्दत पुर्याउने दाबी गरेको छ। हुन्डाईका उपाध्यक्ष जेहुन चाङले रोबोटका कारण मानिसको रोजगारी गुम्ने चिन्तालाई सम्बोधन गर्दै रोबोटलाई तालिम दिन र अन्य भूमिकाका लागि अझै पनि मानिसकै आवश्यकता पर्ने बताएका छन्।
चाखलाग्दो कुरा के छ भने, हुन्डाईले यो प्रविधि त्यही जर्जिया प्लान्टमा प्रयोग गर्न लागेको हो जहाँ सन् २०२५ मा अमेरिकी अध्यागमन विभागले ठुलो छापा मारेको थियो। उक्त छापाका क्रममा ३०० दक्षिण कोरियाली नागरिकसहित सयौँ कामदार पक्राउ परेका थिए, जसले दक्षिण कोरिया र अमेरिकाबिचको सम्बन्धमा केही समय तनाव उत्पन्न गराएको थियो।























