मुख्य समाचार, समाचार, स्वास्थ्य
आर्थिक अभावले पुष्पा र शिशिर उपचारको समस्यामा


बाजुरा, पुष २० । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा बसोबास गर्दै आएका धनराज शाहीको परिवार अहिले अत्यन्तै पीडादायी जीवन बिताउन बाध्य छ । सामान्य किसान परिवारमा जन्मिएका उनका दुई सन्तान छोरी पुष्पा शाही र छोरा शिशिर शाही करिब ७/८ वर्षदेखि गम्भीर शारीरिक समस्याका कारण थला परेका छन्।
आर्थिक अभावकै कारण उनीहरूको अहिलेसम्म उपचार हुन सकेको छैन । जसले गर्दा उनीहरू कुन रोगबाट पीडित छन् भन्ने कुरा समेत यकिन हुन सकेको छैन। उम्मेरले पुष्पा २६ बर्षकि भईन भने शिशिर २४ बर्षका भए । बुवा धनराज शाहीका अनुसार छोरी पुष्पा शाही करिब २० वर्षको उमेरसम्म सामान्य अवस्थामा थिइन्। +२ तह उत्तीर्ण गरेपछि, करिब २२ वर्षको उमेरदेखि अचानक शारीरिक समस्या देखिन थाल्यो बुवा धनराजले बताउनुभयो ।
सुरुमा सामान्य कमजोरी जस्तो देखिए पनि क्रमश उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगिन् । समयमै उपचार नपाउँदा अहिले उनी पूर्ण रूपमा थलिएकी छन् । त्यस्तै, छोरा शिशिर शाही पनि दिदीलाई देखिएको समस्या पछि–पछि आफूमा पनि देखा पर्न थालेको बताए । हाल उनी पनि सामान्य रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा छन्। दुबै सन्तान बोलचाल गर्न सक्ने भए पनि शरीर चलाउन नसक्ने भएकाले उनीहरूको दैनिकी अरूको सहारामै बितिरहेको छ ।
धनराज शाही र उनकी श्रीमतीको जीवन यिनै अपाङ्ग सन्तानको हेरचाहमा बितिरहेको छ। घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनीहरू खेतबारीमा मजदुरी गरेर जेनतेन गुजारा चलाउँदै आएका छन् ।कमाएको पैसाले पेट पाल्नै मुस्किल पर्ने हुँदा अस्पताल लगेर जाँच गराउने, औषधि किन्ने वा विशेषज्ञ उपचार गराउने अवस्था नभएको धनराज शाहीले बताउनुभयो।
“छोरा–छोरीलाई अस्पताल लैजाने चाहना त धेरै छ,” धनराज शाही भन्नुहुन्छ , “तर हातमुख जोड्नै गाह्रो छ, उपचारको खर्च कहाँबाट ल्याउने ?” आमाबुबाको आँखाभरि पीडा छ, तर छोराछोरीको भविष्यप्रति अझै पनि सानो आशा बाँकी छ ।
उहाँले भन्नुभयो, यति लामो समयसम्म थला पर्दा पनि राज्यका कुनै निकायबाट सहयोग भएन । अपाङ्ग परिचयपत्र, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण र उपचारमा सहजीकरण हुनुपर्ने भए पनि परिवार त्यसबाट वञ्चित जस्तै छ । यो घटना केवल एउटा परिवारको कथा मात्र होइन, दुर्गम क्षेत्रमा बसोबास गर्ने सयौँ गरिब परिवारहरूको यथार्थ चित्र भएको पत्रकार जितजंग कटेलले बताउनुभयो ।
समयमै रोग पहिचान र उपचार पाएको भए सायद आज पुष्पा र शिशिरको जीवन फरक हुन सक्ने उहाँले भन्नुभयो । स्थानीय सरकार, प्रदेश सरकार, स्वास्थ्य निकाय, समाजसेवी संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूले सहयोग गरिदिन कटेलले आग्रह गरेका छन् । उचित स्वास्थ्य परीक्षण, उपचार र आर्थिक सहयोग पाउन सके यी दुई युवाको जीवनमा नयाँ आशा पलाउने बताउनुभयो ।























