ऐतिहासिक पर्सागढीमा दुई सय एघारौँ विजय उत्सव मनाइयो


पर्सा । ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा २११औँ विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिका कार्यालयदेखि पर्सागढीसम्म झाँकीसहितको पदयात्रा गरेर शनिबार यहाँ विजय उत्सव मनाइएको हो ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबिच भएको युद्धले नेपाल मुलुक जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सोको स्मरणमा विजय उत्सव भव्य रूपमा मनाइएको जानकारी दिए ।
“अत्याधुनिक हातहातियारले सुसज्जित ब्रिटिस सेनालाई गोर्खाली सेनाले निकै चलाखीपूर्ण ढङ्गले युद्ध जितेको अवसरको सम्झनामा विजय उत्सव मनाएका हौँ” उनले भने, “इतिहासको उक्त गौरवमय क्षण सदा स्मरणीय योग्य छ ।” प्रमुख पाठकले नेपालका अन्य ठाउँका गढीहरू व्यवस्थित भए पनि पर्सागढी जग्गाको किचलोका कारण व्यवस्थित गराउन चुनौतीपूर्ण रहेको बताए ।
श्रीजङ्ग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले ब्यान्डबाजासहित सेनाको ऐतिहासिक वेशभूषासहित पदयात्रा गरेर विजय उत्सव मनाइएको बताए । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा विजय उत्सव मनाएको हो । सो उत्सवमा पर्सागढी नगरपालिकामा रहेका सामुदायिक विद्यालय तथा स्थानीय उपस्थिति थियो ।
पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गललाई संरक्षण र प्रवर्द्धन गर्न तीनै तहका सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको जानकारहरू बताउँछन् ।























