अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्यायो

नवलपुर टुडे
२०८२ पुस २० | बिहान ०४:०९ बजे

अमेरिका । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई बोकेको विमान न्यूयोर्कको स्टिवार्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ।
सीबीएस न्युजले जानकारी दिए अनुसार विमान धावनमार्गमा अवतरण गरेलगत्तै ठूलो संख्यामा कानुन कार्यान्वयन गर्ने निकायका एजेन्टहरू विमानभित्र प्रवेश गरेका छन्।
केही समयअघि मात्र न्यूयोर्कको स्टिवार्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको उक्त विमानबाट एक समूह ओर्लिरहेको देखिएको छ।
अहिले बाहिर अँध्यारो भएकाले तस्बिरमा देखिएका व्यक्तिहरूको पहिचान गर्न कठिन भए तापनि अमेरिकी टेलिभिजन नेटवर्कहरूले ती मध्येका एक व्यक्ति मादुरो नै भएको पुष्टि गरेका छन्।
विमानको सिँढीबाट ओर्लिएपछि उक्त समूह धावनमार्ग हुँदै अघि बढेको थियो। त्यहाँ दर्जनौं मानिसहरू उपस्थित थिए, जसले एक व्यक्तिलाई घेरेर लैजाँदै गरेको देखिएको थियो।























