देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल


किमाथाङ्का (सङ्खुवासभा), पुस १९। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभयो ।प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताउनुभयो ।
“संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरुले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उहाँको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आउनुभएको थियो ।























