कपिलवस्तुको कृष्णनगरमा झडप ३ जना घाइते


कपिलवस्तु । कृष्णनगर यातायात प्राली र सजिलो यातायात प्रालीबीच भएको विवादले उग्र रूप लिँदा ३ जना घाइते भएका छन् । शुक्रबार बेलुका ७:३० बजे सवारी बोलाउने क्रममा उत्पन्न विवाद झडपमा परिणत भएपछि अवस्था तनावपूर्ण बनेको हो ।घाइते हुनेमा कृष्णनगर नगरपालिका वडा नं. ८ का २२ वर्षीय सहचालक सहेजाद मुसलमान, कृष्णनगर नगरपालिका वडा नं. २ का २२ वर्षीय सहचालक विक्की मिश्र र कृष्णनगर नगरपालिका वडा नं. २ कै दिनेश कहार रहेका छन् ।
घाइते सहेजाद मुसलमानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा रेफर गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको कृष्णनगर यातायात प्रालीले जनाएको छ । अन्य दुई घाइतेको शिवराज अस्पताल बहादुरगन्जमा उपचार भइरहेको छ ।
कृष्णनगर यातायात प्रालीका अनुसार दुई प्रालीका कर्मचारीबीच भएको झगडालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेपछि आफ्ना सहचालक तथा कर्मचारीहरू घाइते भएका हुन् । प्रहरीले सजिलो यातायात प्रालीको बहकाउ तथा पक्षमा परेर कृष्णनगर यातायात प्रालीका कर्मचारीमाथि मात्रै कुटपिट गरेको आरोप समेत प्रालीले लगाएको छ ।
कृष्णनगर यातायात प्रालीले दिएको जानकारी अनुसार सजिलो यातायात प्रालीका सब्बु खान, जुबेर खान, साहिल खान, समशेर खान, सलमान खान र मोनु खानले सुरुमा झैझगडा गरी कुटपिट गरेका थिए । उक्त विवाद कृष्णनगर चोकमा सवारी बोलाउने क्रममा सुरु भएको बताइएको छ ।
झडपका क्रममा कृष्णनगर यातायात प्रालीका कर्मचारी दिनेश कहारलाई सजिलो यातायात प्रालीका सञ्चालक जाबेद खानका परिवारका सदस्यहरूले कुटपिट गरेको आरोप लागेको छ ।यश विषयमा जाबेद खानले अझैसम्म कुनै प्रतिक्रिया समेत दिएको पाइएको छैन ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक इश्वर लौडारी समेत घटनाको बारेमा केही बोल्नु भएको छैन ।पीडित दिनेश कहारले घटनास्थल नजिकै प्रहरी उपस्थित हुँदाहुँदै पनि आफूलाई सुरक्षा नदिइएको गुनासो गरेका छन् ।घटनापछि स्थानीयस्तरमा तनाव बढेको छ भने यातायात व्यवसायीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्























