यो भिटामिनको कमीले शरीरमा चाँडै आउँछ बुढ्यौली


काठमाडौं । आजभोलिको जीवनशैलीमा धेरैजसो समय कुर्सीमा बसेर, कम्प्युटरको किबोर्डमा औँला ठोक्दै बित्ने गरेको छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्य र शरीरको हेरचाह गर्नु आफैँमा चुनौतीपूर्ण बन्दै गएको छ । हाम्रो दैनिक आहारमा जंक फूड र डिब्बाबन्द खाद्य सामग्रीको मात्रा बढ्दो छ, जसका कारण शरीरमा आवश्यक भिटामिन र खनिजको कमी देखिन थालिएको छ ।
किन चाँडै आउँछ बुढ्यौली ?
भिटामिन बी–कम्प्लेक्समा आठ प्रकारका भिटामिन हुन्छन्ः थायामिन (बी–१), रिबोफ्लेभिन (बी–२), नियासिन (बी–३), प्यान्टोथेनिक एसिड (बी–५), पाइरिडोक्सिन (बी–६), बायोटिन (बी–७), फोलिक एसिड (बी–९) र कोबालामिन (बी–१२) । यी सबै भिटामिन पानीमा घुल्ने खालका हुन्छन् र शरीरको स्नायु प्रणालीको कार्य सुचारु राख्न मद्दत गर्छन् ।
यीमध्ये भिटामिन बी–७ अर्थात् बायोटिनको कमी हुँदा कपाल झर्ने, नङ कमजोर हुने, छालामा चाउरी पर्ने, कपाल र छाला सुख्खा हुने तथा मेटाबोलिज्म सुस्त हुने समस्या देखिन सक्छ ।
भिटामिन बी–७ को अभावलाई ‘शरीरको साइलेन्ट हत्यारा’ समेत भनिन्छ । यसको दीर्घकालीन कमीले शरीरलाई भित्रैबाट कमजोर बनाउँदै लैजान्छ । महत्त्वपूर्ण कुरा के हो भने बायोटिन शरीरले आफैँ उत्पादन गर्न सक्दैन । त्यसैले यसलाई दैनिक आहारमार्फत नै प्राप्त गर्नुपर्छ ।
आयुर्वेदिक दृष्टिकोणबाट बायोटिनलाई धातु–पोषणको सहायक मानिन्छ । यसले छाला, कपाल र नङको वृद्धि गर्न सहयोग गर्छ । बायोटिनले मेटाबोलिज्मलाई सुदृढ बनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा कार्बोहाइड्रेटलाई ऊर्जामा परिणत गर्न मद्दत गर्छ । रगतमार्फत प्राप्त हुने ऊर्जा शरीरका प्रत्येक अंगसम्म पुगेर तिनको कार्यक्षमता सुधार गर्छ । यसले एमिनो एसिडको कार्यलाई पनि प्रभावकारी बनाउँछ, जसले कोषहरूको वृद्धि र मर्मत प्रक्रियालाई सहज बनाउँछ ।
समग्रमा भन्नुपर्दा, बायोटिनको कमीले शरीर कमजोर हुनुका साथै समयपूर्व बुढ्यौली निम्त्याउन सक्छ । अब प्रश्न उठ्छ—दैनिक आहारबाट भिटामिन बी–७ कसरी प्राप्त गर्ने ?
भिटामिन बी–७ विभिन्न खानामा सजिलै पाइन्छ । बदाम, ब्रोकाउली, मीठो आलु, सूर्यमुखीको बियाँ, ओट्स, च्याउ, पालुङ्गो र भटमास नियमित रूपमा सेवन गर्दा बायोटिनको आवश्यक मात्रा पूर्ति गर्न सकिन्छ ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतका आधारमा तयार पारिएको हो । यो कुनै पनि रूपमा योग्य चिकित्सकीय परामर्शको विकल्प होइन । स्वास्थ्यसम्बन्धी समस्या वा थप जानकारीका लागि सधैँ विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नुहोला ।)























