राजनीति

राष्ट्रिय एकता र मेलमिलाप आजको आवश्यकता: डा. शेखर कोइराला

नवलपुर टुडे
२०८२ पुस १६ | बिहान ०७:०९ बजे

काठमाडौं । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलाप आजको आवश्यकता भएको बताएका छन्। लोकतान्त्रिक आन्दोलनका नेता विपी कोइरालाले दिएको राष्ट्रिय मेलमिलापको सन्देश वर्तमान राजनीतिक परिस्थितिमा झनै सान्दर्भिक बनेको उनको भनाइ छ।

विश्व शक्तिराष्ट्रहरूको दबाब र स्वार्थ बढिरहेको सन्दर्भ उल्लेख गर्दै डा. कोइरालाले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय मेलमिलाप कांग्रेसको मात्र विषय नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको स्पष्ट पारे। कांग्रेसभित्रको एकता नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै उनले आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर भावी निर्वाचनमा एकजुट भएर अघि बढ्न आह्वान गरे। जनताको विश्वास कायम राख्न नसके पार्टीको सान्दर्भिकता गुम्ने खतरा रहेको चेतावनी पनि दिए।

विपी कोइरालाको मेलमिलाप नीतिले आज पनि नेपाली कांग्रेसलाई मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले राष्ट्रिय राजनीतिमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए।

dinesh 1

 

 

 

कमेन्टहरु