‘जीवनउपयोगी शिक्षा आवश्यक छ ’


भक्तपुर, पुस १५। प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताउनुभयो । उहाँले २१औँ शताब्दीले परिकल्पना गरेअनुसार गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रका लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउँदै विद्यालयमा अक्षयकोषको निर्माण गरी कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुति तथा विभिन्न सांस्कृतिक नृत्य एवं गायनहरू प्रस्तुत गरेका थिए । प्रधानसेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनीलगात अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन गर्नुभयो ।























