समयमा कर नबुझाउने ५२ करदाताको नाममा ३० दिने सूचना जारी


काठमाडौं । काठमाडौं महानगरपालिकाले समयमा कर नबुझाउने ५२ करदाताको नाममा ३० दिने सूचना जारी गरेको छ । महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर पटक पटक पत्राचार गर्दा पनि बुझाउन अटेरी गरेपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना गरी ताकेता गरेको छ ।
यदि ३० दिनभित्र कर नबुझाएमा कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने महानगरले उल्लेख गरिएको छ ।
महानगरपालिकालाई तिर्न/बुझाउन पर्ने घरजग्गा/सम्पत्ति कर बुझाउनका लागि विगत धेरै समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित गरेको हो ।
सो सूचनाको मितिले ३०(तीस) दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरणसहित बुझाउन बाँकी कर (जरिवानासमेत) दाखिला गर्नुहोला भनी महानगरपालिकाको सूचनामा जारी गरिएको छ ।
अन्यथा महानगरपालिकाको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने व्यहोरासमेत उक्त सूचनाद्वारा सम्बन्धित सबै करदाताहरूमा जानकारी गराइएको छ।























