नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ९ को छनौट सम्पन्न


करहिया, तिलोत्तमा–९, पौष १२ । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ९ को छनौट कार्यक्रम आज (शनिबार) सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको संस्थाले जानकारी दिएको छ ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष धु्रव न्यौपानेले पञ्चसूत्रीय योजना सहित शुभयात्रा नेपालले अंगीकार गरेका आफ्ना वडाका समस्या र सम्भावनाको वक्तृत्वकला प्रतियोगिताको प्रशंसा गर्नुभयो ।
शुभयात्रा नेपाल करहिया समितिका संयोजक दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका सदस्य वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै न्यू इन्भाइरनमण्ट मा.वि.का बिनिशा बगाले नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको निर्णायक मण्डलका संयोजक वेदनारायण भट्टराईले बताउनुभयो । त्यस्तै, प्रतियोगितामा दोस्रो हुने गौतमबुद्ध मा.वि.का सोनिया घले र तेस्रो हुने गौतमबुद्ध मा.वि.कै शर्मिला केवट पुरस्कृत हुनुभएको निर्णायक मण्डलका सदस्य दुर्गादेवी लामिछानेले जानकारी दिनुभयो ।
शुभयात्रा नेपाल करहिया समितिका सचिव रूपेश पाण्डेको सञ्चालन र तिलोत्तमा नगर समितिका सदस्य भुपराज पाण्डेको स्वागतमा भएको कार्यक्रममा वडा सचिव ऋषिकेश घिमिरे, गौतमबुद्ध मा.वि.का डिल्लीराम गैरे, न्यू इन्भाइरनण्ट सेकेण्डरी इङ्लिश स्कूलका हरि पोखरेल, बालमैत्री सहजकर्ताहरूः राधा खनाल, राधिका खत्री, रेडियण्ट कलेजका रोहित पाण्डे, तुल्सीपुर टोल समितिका संयोजक ठाकुर घिमिरे, मुरारी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
फागुन ७ गते हुने अन्तिम प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर १० को कार्यक्रम पुस १५ गते सञ्चालन गरिने तिलोत्तमा नगर समितिका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।























