जापानको टोकियोमा ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किदा २६ जना घाइते

रासस
२०८२ पुस १२ | मध्यान्ह ०५:०९ बजे

टोकियो,पुस १२। जापानको टोकियो उत्तरपश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि सवारी साधनहरू नियन्त्रण बाहिर गएर दुर्घटना भएको अनुमान गरिएको छ ।
दुर्घटनापछि द्रुतमार्गको उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको थियो । धेरै सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही सवारी साधन आगलागीबाट जलेर नष्ट भएका छन् ।घटनाका बेला भारी हिमपातको चेतावनी जारी गरिएको थियो । प्रहरीले सडकमा जमेको हिउँ दुर्घटनाको मुख्य कारण हुन सक्ने जनाएको छ ।


















