प्रबास

टर्कीले सुरु गर्‍यो विमान दुर्घटनाको अनुसन्धान

एजेन्सी
२०८२ पुस ११ | मध्यान्ह १२:०९ बजे

अंकारा । लिबियाली सैन्य प्रमुखसहित आठ जनाको मृत्यु भएको विमान दुर्घटनाको अनुसन्धान सुरु भएको  छ । विज्ञहरूले टर्कीमा भएको विमान दुर्घटनाबाट बरामद गरिएको ब्ल्याक बक्सको जाँच सुरु गरेको टर्कीको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ  । लिबियाली अधिकारीहरूसँगको सहकार्यमा अनुसन्धान भइरहेको बताइएको छ ।

मंगलबार टर्कीको राजधानी अंकाराबाट उडान भरेपछि पश्चिमी लिबियाली सैन्य प्रमुख जनरल मुहम्मद अली अहमद अल–हद्दाद, अन्य चार सैन्य अधिकारी र तीन चालक दलका सदस्यहरू बोकेको निजी विमान दुर्घटनाग्रस्त भएको थियो । यस घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।

एपीको समाचारका अनुसार लिबियाली अधिकारीहरूले प्राविधिक खराबीका कारण दुर्घटना भएको बताएका छन् । अल–हद्दाद पश्चिमी लिबियाका एक शीर्ष सैन्य कमाण्डर थिए र लिबियाली सेनालाई एकताबद्ध गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको प्रयासमा प्रमुख भूमिका खेलेका थिए ।

टर्की र लिबिया बिचको सैन्य सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले अंकारामा रक्षा वार्ता गरेपछि उच्चस्तरीय लिबियाली प्रतिनिधिमण्डल लिबियाको राजधानी त्रिपोली फर्किरहेको थियो। टर्कीका गृहमन्त्री अली येर्लिकायका अनुसार ३ वर्ग किलोमिटर (एक वर्ग माइलभन्दा बढी) क्षेत्रमा विमानको भग्नावशेष छरिएको थियो, जसले गर्दा उद्धार प्रयासहरू जटिल भएका थिए ।

जहाजमा मारिएका पाँच जना परिवारका सदस्यहरूसहित २२ जनाको प्रतिनिधिमण्डल बुधबार बिहान लिबियाबाट अनुसन्धानमा सहयोग गर्न आइपुगेको जनाइएको छ।

कमेन्टहरु