राजनीति

आम जनता पार्टीबाट रौतहट निर्वाचन क्षेत्र नं. ४ मा ऋषि धमलाको एकल नाम सिफारिश

नवलपुर टुडे
२०८२ पुस ८ | बिहान ०८:०९ बजे

रौतहट, पौष ८ । आम जनता पार्टीले आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट ऋषि धमलालाई उम्मेदवारका रूपमा एकल नाम सिफारिश गरेको छ। रौतहट निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष सरोज बछारको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले उहाँको नाम एकल रूपमा सिफारिश गर्ने निर्णय गरेको हो।

पार्टीका केन्द्रीय तथा स्थानीय तहमा भएका व्यापक छलफल, सुझाव र मूल्याङ्कनपछि ऋषि धमलाको नाम सर्वसम्मत रूपमा सिफारिश गरिएको जनाइएको छ। जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर क्रियाशील तथा जनसमस्यासँग प्रत्यक्ष जोडिएका नेतृत्वका रूपमा धमलालाई अघि सारिएको पार्टीको भनाइ छ।

पार्टीका अनुसार उहाँको उम्मेदवारीले रौतहट–४ मा नयाँ राजनीतिक विश्वासको निर्माण गर्दै परिवर्तनको आधार तयार गर्ने अपेक्षा गरिएको छ। आम जनता पार्टीले यस क्षेत्रलाई परिवर्तनको केन्द्र बनाउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, साथै किसान, मजदुर र युवाको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद, संगठन विस्तार तथा जनमुखी एजेन्डाका साथ निर्वाचन अभियानलाई थप तीव्र बनाइने आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवले जानकारी दिनुभयो।

कमेन्टहरु