समाचार

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काट्दै आयोग

नवलपुर टुडे
२०८२ पुस ८ | बिहान ०८:०९ बजे

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ । केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकेलगत्तै आयोगले दुवैलाई औपचारिक पत्र पठाउने तयारी गरेको हो ।

आयोग स्रोतका अनुसार ओली र लेखकलाई बयानका लागि बोलाउँदा कम्तीमा एक साताको समय दिने गरी पत्राचार गरिनेछ । आयोगले हाल काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ । त्यस्तै, हालका प्रहरी महानिरीक्षक तथा जेन–जी आन्दोलनका बेला एआईजी रहेका दानबहादुर कार्कीको बयानको केही अंश बाँकी रहेको आयोगले जनाएको छ ।

एक–दुई दिनभित्र बाँकी बयान सकिएपछि तत्कालीन सरकारको नेतृत्व तहसम्म पुग्ने गरी प्रक्रिया अघि बढाइने आयोगको तयारी छ । जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार बाँकी बयान पूरा भएपछि आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई औपचारिक रूपमा बयानका लागि बोलाउनेछ ।

‘बाँकी रहेका केही बयान सकेपछि हामी तत्कालीन सरकारको नेतृत्व र शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृहमन्त्रीलाई डाक्नेछौं’, शर्माले भन्नुभयो– ‘उहाँहरूलाई आयोगले पत्राचार गरेरै बोलाउनेछ ।’ आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरेर म्याद तामेल गराउने तयारी गरेको छ ।

आयोगले यसअघि बानेश्वरस्थित संसद् भवन क्षेत्रमा गोली चलाउने सुरक्षाकर्मी, उनीहरूलाई आदेश दिने कमान्डर, बल प्रयोगको लिखित आदेश दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र गृहसचिवसँग समेत बयान लिइसकेको छ । यसका आधारमा आयोगले ओली र लेखकलाई सोधिने प्रश्नहरूको प्रारम्भिक खाका तयार गरिरहेको छ ।

कतिपयले आयोगले उच्च तहका नेताहरूलाई बयानमा नबोलाउने हो कि भन्ने आशंका गरिरहेका बेला आयोगका सदस्य विज्ञानराज शर्माले त्यसलाई अस्वीकार गर्नुभएको छ । ‘हामीले बोलाउनुपर्ने कसैलाई पनि सहुलियत र उन्मुक्ति दिँदैनौं’, शर्माले भन्नुभयो– ‘उहाँहरू सबै अनुसन्धानको दायरामा आउनुहुनेछ ।’

जेन–जी आन्दोलनका क्रममा भएको दमन र आगजनी प्रकरणमा अब अनुसन्धान राजनीतिक नेतृत्व तहसम्म पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारीले आयोगको अनुसन्धान निर्णायक चरणमा प्रवेश गरेको संकेत दिएको छ ।
अब आयोगको पत्राचार र त्यसपछि हुने घटनाक्रमले यो संवेदनशील प्रकरणले कुन दिशा लिन्छ भन्ने तय गर्ने देखिन्छ ।

बयान दिन्न, गोली ठोके हुन्छ : ओली

जाँचबुझ आयोगले बयानका लागि बोलाउने गृहकार्य गरिरहँदा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूले जाँचबुझ आयोगमा बयान नदिने अडान दोहो¥याउँदै आफूलाई गोली ठोक्न चुनौती दिनुभएको छ ।
हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले भन्नुभयो– ‘जाँचबुझ आयोगमा बयान दिन्न, गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ ।’

उहाँले आयोगका अध्यक्ष कार्कीले आयोग बनाउनुअघि नै ओलीलाई थुन्नुपर्छ भनेर अभिव्यक्ति दिएकाले आयोगले तटस्थ भएर काम गर्नै नसक्ने भन्दै आफू बयान दिन नजाने बताउनुभयोे ।
ओलीले आयोगका अधिकारीहरू घरमै आएको खण्डमा भने आफूले सम्मानका साथ स्वागत गर्ने, चिया खुवाउने र कुरा गरेर पठाउने बताउनुभयो ।

लेखक बयान दिन तयार
आयोगसम्बद्ध स्रोतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वसूचना दिए कुनै पनि दिन आयोगमा उपस्थित भएर आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश आयोगका एक सदस्यलाई पठाउनुभएको छ ।

स्रोतका अनुसार, लेखकको बयानको हकमा कुनै खास समस्या देखिएको छैन । यसले आयोगको काम सहज रूपमा अघि बढ्ने अपेक्षा आयोगका अधिकारीहरूले गरेका छन् ।

कमेन्टहरु