समाज

सशस्त्र प्रहरीको सक्रियताले कोशी ब्यारेजबाट चार बालबालिका सकुशल उद्धार

देवराजा यादव
२०८२ पुस ८ | बिहान ०६:०९ बजे

सुनसरी । कोशी ब्यारेज सुनसरी सप्तरीको तिरहुत गाउँपालिका–३ गोईठीबाट हराएका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले कोशी ब्यारेजबाट सकुशल उद्धार गरिएको छ । सप्तरी तिरहुत गा.पा. ३ गोईठी बस्ने बिरेन्द्र सरदारको छोरी अं. वर्ष ७की श्रीष्ठी कुमारी सरदार, ऐ.ऐ.बस्ने चन्दर सरदारको छोरी अं.वर्ष ७ की वर्षा कुमारी सरदार र ऐ.ऐ.बस्ने रामचन्द्र सरदारको छोरी अं. वर्ष ८ की आरोसी सरदार र निजकै छोरा अं. वर्ष ६ को कृष्ण सरदार गरी ४ जनालाई सशस्त्र प्रहरीले देखाएको सक्रियता, सतर्कता र समयमै गरिएको समन्वयका कारण सकुशल उद्धार गरिएको छ।

पौष ६ गते अपराह्न करिब ४ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका चार जना बालबालिका लामो समय सम्म घर नफर्किएपछि परिवारजन चिन्तित बनेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस भारदहले संयुक्त रूपमा खोजतलास अभियान सञ्चालन गरेका थिए।खोजतलासकै क्रममा पौष ७ गते बिहान करिब ७ः५५ बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा सशस्त्र प्रहरी हल्दार बेचु कुमार बस्नेतको कमाण्डमा खटिएको ५ जनाको चेकपोष्टको टोलीले उच्च सतर्कताका साथ निगरानी गर्दै बालबालिकाहरूलाई भारदहतर्फबाट कोशी ब्यारेजतर्फ पैदल जाँदै गरेको अवस्थामा फेला पारेको हो।सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय भारदहबीच गरिएको प्रभावकारी समन्वयका कारण बालबालिकालाई तत्काल सुरक्षित रूपमा इलाका प्रहरी कार्यालय भारदह ल्याई राखिएको थियो।त्यसपछि उनीहरूका बुवा–आमालाई बोलाई बिहान ९ः३० बजे बालबालिकालाई सकुशल परिवारको जिम्मा लगाइएको छ ।

स्थानीयवासी तथा बालबालिकाका अभिभावकहरूले सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले देखाएको जिम्मेवार भूमिका, सतर्कता र मानवीय संवेदनशीलताको खुलेर प्रशंसा गरेका छन्। प्रहरीको तत्परता नदेखिएको भए ठूलो जोखिम हुन सक्ने भन्दै नागरिकहरूले सुरक्षा निकायप्रति विश्वास अझ बलियो बनेको प्रतिक्रिया दिएका छन्।

कमेन्टहरु