मोदीको बायोपिक ‘माँ वन्दे’ को सुटिङ सुरु


मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘माँ वन्दे’ को छायाङ्कन शनिबारदेखि सुरु भएको छ।
चलचित्रका निर्माताहरूले आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत सुटिङ सुरु हुनुअघि गरिएको विशेष पूजाका झलकहरू सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्। यो चलचित्रले देशको भाग्य बदल्ने एक व्यक्तिको असाधारण कथा भन्ने निर्माण पक्षले जनाएको छ।
यस बायोपिकमा मलयालम चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गर्दैछन्। ‘मार्को’ र ‘मलिकप्पुरम’ जस्ता चर्चित चलचित्रमा अभिनय गरिसकेका मुकुन्दनको जन्म केरलमा भए पनि उनले आफ्नो बाल्यकाल र विद्यालय तहको शिक्षा गुजरातको अहमदाबादमा बिताएका थिए। त्यसैले पनि उनलाई मोदीको भूमिकाका लागि सुहाउँदो पात्र मानिएको छ।
क्रान्ति कुमार सीएचको निर्देशनमा तयार भइरहेको यस चलचित्रलाई वीर रेड्डी एमले ‘सिल्भर कास्ट क्रिएसन’को ब्यानरमा निर्माण गर्दैछन्। गत सेप्टेम्बरमा मोदीको जन्मदिनको अवसर पारेर घोषणा गरिएको यो चलचित्रले उनको राजनीतिक यात्रा र जीवनका विभिन्न पाटाहरूलाई समेट्ने बताइएको छ।
सन् २०११ मा तमिल चलचित्रबाट करिअर सुरु गरेका मुकुन्दनले यसअघि धेरै सफल दक्षिण भारतीय चलचित्रहरूमा आफ्नो अभिनयको जादु देखाइसकेका छन्।























