रविले भने- जेन-जी आन्दोलनको दमन ‘हत्या’ हो, न्याय नपाएसम्म लडिरहन्छु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमन ‘हत्या’ भएको बताएका छन् । शनिबार काठमाडौं ओर्लिएलगत्तै आन्दोलनका घाइते तथा शहीद परिवारलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन्।
लामिछानेले आन्दोलनकारीमाथि टाउकोमा ताकी–ताकी गोली हानिएको घटना क्षम्य नहुने बताए। साथै, पीडित परिवारले न्याय नपाएसम्म आफ्नो लडाइँ जारी रहने प्रतिबद्धता जनाए । लामिछानेले घटनाको छानबिन र कारबाहीमा ढिलाइ भएको भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए। ‘सारा संसारले देखेको त्यो क्रूर हत्यालाई पनि सरकारले तदारुकताका साथ कारबाही प्रक्रिया किन अगाडि बढाएन ? किन यति धेरै समय लियो ?’ उनले प्रश्न गर्दै भने, ‘आदेश दिने र घटनामा संलग्न हुनेहरूलाई अहिलेसम्म कारबाहीको दायरामा नल्याउँदा शहीद परिवारलाई र हामीलाई पोलेको छ।’
उनले सुशासन कायम गर्ने सवालमा सरकारलाई आफूहरूको साथ रहे पनि नागरिक हत्या गर्नेहरूलाई उन्मुक्ति दिने छुट नभएको चेतानी दिए । उनले आफू व्यक्तिगत स्वार्थ वा चुनाव जित्नका लागि नभई सिंगो पुस्ताको भविष्य निर्माण गर्न राजनीतिमा आएको दाबी गर्दै शहीद र घाइतेका परिवारलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।






















