समाचार

तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण सम्पन्न

नवलपुर टुडे
२०८२ पुस ५ | मध्यान्ह ०६:०९ बजे

भलवारी, तिलोत्तमा पुस ५ । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ७ को छनौट कार्यक्रम आज (शनिबार) सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले बताउनुभयो ।

तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष देवीप्रसाद पंगेनीले आफ्ना वडाका समस्या र सम्भावनाबारे नयाँ पुस्ताको दृष्टिकोण बुझ्न पाउने कार्यक्रमका लागि आभार व्यक्त गर्नुभयो ।

शुभयात्रा नेपाल भलवारी समितिका संयोजक सरस्वती गैह्रेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताउनुभयो । उहाँले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिनुभयो ।

कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिनुभएको थियो । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका संयोजक शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा अरनिको इङ्लिस बोर्डिङ् स्कूलका कुसुम भट्टराई पहिलो हुँदै नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्नुभएको छ । प्रतियोगितामा दोस्रो हुने गौतमबुद्ध मा.वि.का समीक्षा कुँवर र तेस्रो हुने लिटिल प्याराडाइजका सुकृति पाण्डे पुरस्कृत हुनुभएको निर्णायक मण्डलका सदस्य वेदप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

भलवारी समितिका कोषाध्यक्ष यमकुमारी पौडेलको स्वागतमा आयोजित कार्यक्रममा वडा सदस्य गणेश भण्डारी, कल्पना रोका, करहिया खानेपानीका विष्णुप्रसाद रेग्मी, लुम्बिनी वल्र्ड स्कूलका शिक्षक सुमन ढुङ्गेल, अभिभावक गोविन्द रेग्मी, लगायतले विद्यार्थीमा असल नेतृत्व विकाशका लागि कार्यक्रम उत्कृष्ट भएको बताउनुभयो ।

भलवारी समितिका सचिव नर्वदा वाग्ले (सीता)को सञ्चालनमा भएको कार्यक्रममा बालमैत्री सहजकर्ता विकाश सुनार, स्थानीय टोल विकाश संस्थाका अध्यक्ष राजकिशोर मिश्रा, सेमराबजार मा.वि.का प्रधानाध्यापक खेमराज पाण्डे, आजीवन सदस्य रेशमबहादुर रोकाहा, शुभयात्रा नेपाल गोठवा समितिका सचिव कृष्णप्रसाद खनाल, कार्यालय सहायक खिमकुमारी बस्याल लगायतको उपस्थिति रहेको थियो ।

प्रजातन्त्र दिवसका अवसरमा हुने अन्तिम प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ८ को कार्यक्रम पुस १० गते सोही वडाको कार्यालयमा सञ्चालन गरिने गोठवा समितिका संयोजक भिमा अर्यालले जानकारी दिनुभयो ।

कमेन्टहरु