अपराध

दाङको लमही सुनचाँदी पसलमा गोली प्रहार गर्ने कारागारबाट फरार कैदी पक्राउ

नवलपुर टुडे
२०८२ पुस ४ | मध्यान्ह ०७:०९ बजे

घोराही, पुस ४ । दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी फरार रहेका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका कैदी रहेको खुलेको छ । प्रहरीले उक्त गोली प्रहार घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो । 

लुटपाट गर्ने उद्देश्यले सुनचाँदी पसलमा गोली प्रहार गरेर फरार रहेका केसीलाई शुक्रबार राजपुर गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ । 

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार केसी जेनजी आन्दोलनका क्रममा गएको भदौ २५ गते तुलसीपुर कारागारबाट फरार भएका थिए। उहाँका अनुसार रुकुममा अपराधिक घटनामा संलग्न भएकोमा १५ वर्ष कैद सजाय भोगिरहेका केसीलाई २०८१ सालमा तुलसीपुर कारागारमा स्थानान्तरण गरिएको थियो ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जेनजी आन्दोलनका बेला कारागारबाट भागेका केसी केही समय भारतमा बसेको र स्वदेश फर्केर पुनः अपराधिक क्रियाकलापमा संलग्न भएका हुन् । जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले सुन किन्ने ग्राहकको रूपमा गइ गोली प्रहार गरी फरार भएका उपरीक्षक श्रेष्ठले भन्नुभयो,‘घटनापछि उनी लमजीकै होटेल प्यालेसमा आइ बसेको र सुनजाँदी पसलमा गोली चलाउन प्रयोग गरेको पेस्तोल त्यहीँ होटेलमा लुकाएर भागेका थिए ।’ मंसिर २७ गते होटेल प्यालेसमा कामदारले होटेलको कोठा सरसफाइ गर्ने क्रममा लुकाएर राखेको पेस्तोल पड्किँदा एक जना सामान्य घाइते भएका थिए । 

सुनचाँदी पसलमा मंसिर २१ गते गोली प्रहार गरेर फरार भएका केसीलाई प्रहरीले शुक्रवार बिहान दाङको राजपुर गाउँपालिकाको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ । पक्राउ परेका अभियुक्तमाथि दाङ जिल्ला अदालतबाट म्यादथप गरेर घट्नाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

कमेन्टहरु