पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो


काठमाडौँ, पुस ४। गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासी एवं यात्रुको भनाइ छ ।मन्दिर क्षेत्रको जग्गा मिचेर बनाइएको बस्तीलाई पूर्वमुख्यसचिव चन्द्रबहादुर थापाले कागज दिएको जनाइएको छ । अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।
पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ । सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।
गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाहिने पाउको चिन्ह रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोकोसमेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाममा आउने गरेका छन् ।






















