कारागारबाट फरार १५ कैदी पक्राउ, पुनः जेल चलान


झापा । ‘जेनजी’ आन्दोलनको समयमा देशका विभिन्न कारागारहरूबाट सुरक्षा व्यवस्थाको कमजोरीको फाइदा उठाउँदै फरार भएका १५ जना कैदीहरूलाई झापा प्रहरीले पक्राउ गरेको छ।
झापाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई पुनः सम्बन्धित कारागार पठाइएको हो।
पक्राउ पर्नेहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका चोरी र राजस्व छली जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्तिहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये:
- झुम्का कारागारबाट फरार ८ जना
- चितवन कारागारबाट फरार ३ जना
- केन्द्रीय कारागार (जगन्नाथ देवल) काठमाडौँबाट फरार ३ जना
- कास्की कारागारबाट फरार १ जना रहेका छन्।
पक्राउ पर्ने मुख्य व्यक्तिहरूमा कर्तव्य ज्यान मुद्दाका रामकुमार राजवंशी, डम्बर भन्ने शम्भु मगर, र जगनारायण चौधरी रहेका छन्। त्यसैगरी, लागुऔषध मुद्दामा शिव सरदार, बलबहादुर राई र अनिता खातुन (एन्जिला) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
राजस्व छलीमा संलग्न मदन पोखरेल र उत्तम ठकुरीसहित ज्यान सम्बन्धी मुद्दाका अन्य ५ जना र अखेटोपहार मुद्दाका २ जनालाई पनि सम्बन्धित कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
विभिन्न बहानामा कारागारबाट उम्किएका यी फरार प्रतिवादीहरूलाई पक्राउ गर्न झापा प्रहरीले विशेष निगरानी र खोजी अभियान चलाएको थियो।
यो सफलतासँगै सुरक्षा चुनौती मानिएका फरार अपराधीहरू पुनः कानुनी दायरामा आएका छन्।






















