दुबई यूएई, देश, धर्म–संस्कृति/रीतिथिति, प्रबास, बिश्व, समाचार
प्रवासी नेपाली एकता समाज युएईद्वारा श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइने

कविराज राजवंशी/ प्रवास दुवई यूएई
प्रवासी नेपाली एकता समाज युएईद्वारा यहि ११, जनवरी २०२६ को दिन बेलुकी ४:०० बजे सिल्भर स्पोन रेस्टुरेन्टको सभा हल वर दुबईमा श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइने निधो भएको छ।

नेपाली इतिहासका महान् राष्ट्रनिर्माता, श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस प्रत्येक वर्ष नेपाली मन–मस्तिष्कमा विशेष महत्वका साथ स्मरण गरिन्छ। यही गौरवमय अवसरमा प्रवासी नेपाली एकता समाज युएईले यस वर्ष पनि संयुक्त अरब इमिरेट्समा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै श्रद्धा, सम्मान र राष्ट्रिय चेतनासहित जन्मजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको छ।
पृथ्वीनारायण शाह केवल एक राजा मात्र होइनन्, उनी आधुनिक नेपालका निर्माता हुन्। विखण्डित अवस्थामा रहेका स–साना राज्यहरूलाई एकीकृत गरी स्वतन्त्र, सार्वभौम र आत्मनिर्भर राष्ट्रको आधार निर्माण गर्नु उहाँको अद्वितीय योगदान हो। “मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबै जातको फुलबारी हो, सबैलाई चेतना भया ।” भन्ने दिव्य उपदेशले उहाँको राष्ट्रप्रतिको निस्वार्थ प्रेम, त्याग र दूरदर्शिता स्पष्ट रूपमा झल्काउँछ। उहाँका नीति, कूटनीति, सैन्य रणनीति र सामाजिक दृष्टिकोण आज पनि नेपाली समाजका लागि मार्गदर्शक सिद्धान्तका रूपमा रहेका छन्। प्रवासी जीवनमा रहँदा मातृभूमिबाट टाढा भए पनि मन, भावना र चिन्तन सधैं नेपालमै केन्द्रित हुन्छ।
युएईमा रहेका हजारौं नेपाली श्रमिक, व्यवसायी, पेशाकर्मी तथा बुद्धिजीवीहरूका लागि पृथ्वीनारायण शाहको जन्मजयन्ती केवल औपचारिक कार्यक्रम मात्र होइन, आफ्नो पहिचान, गौरव र एकताको स्मरण गर्ने अवसर हो। यही भावनालाई आत्मसात गर्दै प्रवासी नेपाली एकता समाज युएईले यस दिवसलाई अझ अर्थपूर्ण बनाउने उद्देश्य लिएको छ। कार्यक्रममार्फत राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहयोगको सन्देश प्रवाह गरिनेछ। विभिन्न वक्ताहरूले पृथ्वीनारायण शाहको जीवन, योगदान र आजको सन्दर्भमा उहाँका उपदेशहरूको महत्वमाथि प्रकाश पार्नेछन्। साथै प्रवासी नेपाली समुदायबीच आपसी समझदारी, एकता र सहकार्यलाई थप मजबुत बनाउने संकल्प व्यक्त गरिनेछ। प्रवासी नेपाली एकता समाज युएई सधैं नेपालीहरूको हक–हित, पहिचान र संस्कृतिको संरक्षणमा क्रियाशील रहँदै आएको छ। यस्तो ऐतिहासिक दिवस मनाउनुको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो इतिहास र राष्ट्रिय मूल्यबोधसँग जोड्नु हो। विदेशमा जन्मिएका वा हुर्किएका नेपाली सन्ततिहरूले पनि राष्ट्रनिर्माताको योगदान बुझून्, राष्ट्रिय एकताको भावना आत्मसात् गरून् भन्ने समाजको चाहना रहेको छ।
अन्ततः, श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हामी सबै नेपालीलाई एकताबद्ध बनाउने साझा सूत्र हो। प्रवासी नेपाली एकता समाज युएईद्वारा आयोजना गरिने यस कार्यक्रमले नेपाल प्रतिको माया, जिम्मेवारी र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास लिइएको छ। मातृभूमिबाट टाढा रहे पनि राष्ट्रनिर्माताको आदर्शलाई हृदयमा राख्दै एकताबद्ध भएर अघि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।






















