सभापति देउवा र नेता कोइरालाबीच भेट

रासस
२०८२ पुस १ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ, पुस १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गर्नुभएको छ ।सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।
भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताउनुभएको थियो । उहाँले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउनसमेत सभापतिको ध्यानाकर्षण गराउनुभयो ।
पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनमा खटाउन कोइरालाले आग्रह गर्नुभयो । भेटमा कोइरालासँगै पार्टीका नेता एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल पनि देउवा निवास पुग्नुभएको थियो ।























