तीन मन्त्रालयको जिम्मा सम्हाल्नुभएका घिसिङलाई ज्ञापनपत्र


दमौली (तनहुँ), मंसिर २९। भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो ।
मन्त्री घिसिङलाई भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फतका विभिन्न योजनाका बारेमा ज्ञापनपत्र बुझाइएको छ । व्यास नगरपालिका–१३ बेलबासका स्थानीय यमबहादुर आलेले तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा दिलाउन मन्त्री घिसिङ समक्ष आग्रह गर्नुभयो । आलेले तनहुँ जलविद्युत् आयोजनाले यस ठाउँ बाढीको जोखिममा रहेको र पुनर्वासका लागि मुआब्जाको सुझाव भइसकेकाले तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न घिसिङको ध्यानाकर्षण गराउनुभयो ।
घुमाउने पुल सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेकाले यस विषयमा मन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गर्नुभएको छ । ११ वर्षको अवधिमा ३० प्रतिशत मात्रै प्रगति भएको भन्दै मगरले यस पुल नहुँदा यस भेगका हजारौ जनता मारमा परेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विकासको दृष्टिकोणले जनताको भावना चाहनाअनुसार पुल निर्माण हुनु अति आवश्यक छ । हामीले विभिन्न सङ्घर्षका कार्यक्रम गरिरहेका छौ । जसरी हुन्छ यहाँ पुलको अति आवश्यक छ । यस विषयमा मन्त्री ज्यूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय नगरी बन्दीपुर बजारमा विद्युत्को भूमिगत तार विस्तार गर्नुपर्ने भन्दै मन्त्री समक्ष ज्ञापनपत्र बुझाउनुभयो । बन्दीपुरमा विदेशी तथा स्वदेशी पर्यटकको बाक्लो चहलपहल हुने भन्दै यसको सौन्दर्यताका लागि यो अति आवश्यक रहेको मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभयो ।
उहाँले बन्दीपुर ढाडखोला घुमाउने सडकमा बजेट विनियोजन, पिप्लेदेखि बन्दीपुरसम्म जाने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिदिन मन्त्री समक्ष माग गर्नुभयो । व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले मानुङकोट जाने बाटोमध्ये करिब दुई किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकाले त्यसतर्फ मन्त्री समक्ष ध्यानाकर्षण गराउँदै मागपत्र बुझाउनुभयो ।
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका विभिन्न ठाउँमा सिँचाइ योजनाका लागि बजेटका लागि आग्रह गर्नुभयो । शुक्लागण्डकीमा आयोजित कार्यक्रममा दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण सङ्घर्ष समितिका संयोजक राजन रिमालले अलपत्र रहेको दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण कार्य तत्काल अगाडि बढाउन मन्त्री समक्ष मागपत्र प्रस्तुत गर्नुभयो । विसं २०५२ मा प्रारम्भ भएको दुलेगौडा हर्कपुर मोटरमार्ग विगत लामो समयदेखि शङ्करमाली कन्स्ट्रक्सनमार्फत निर्माण कार्य अगाडि बढाए पनि हालसम्म अलपत्र रहेको रिमालले उल्लेख गर्नुभयो ।
भिमादमा नगरप्रमुख दधिराज सुवेदीले लामो समयदेखि अलपत्र रही हाल मुद्दाको क्रममा रहेको श्रृङ्गपथको विषयमा मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभयो । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले भिमाद बजार जोखिममा रहेको विषय मन्त्री घिसिङ समक्ष जानकारी गराउनुभयो ।
सबै ठाउँमा ज्ञापनपत्र बुझेपछि मन्त्री घिसिङले अलपत्र रहेका सडक आयोजनामा ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभयो ।























