कीर्तिपुरमा आफ्नै छिमेकीलाई मरणासन्न हुनेगरी कुट्ने व्यक्ति पक्राउ


काठमाडौं । कीर्तिपुर नगरपालिका–५ स्थित भत्केको पाटीमा स्थानीय राधेश्याम विष्टले एक दम्पतीलाई मरणासन्न हुनेगरी कुटेका छन् ।
भुकम्पले चर्केको पर्खाल बनाउँदा आफुलाई नसोधेको र हो–हल्ला गरेको निहुँमा आफ्नै छिमेकी ७० वर्षीय नेत्रप्रसाद खनाल र सरस्वती खनाललाई विष्टले कुटपिट गरेका हुन् । विष्टले गमलाले हिर्काउँदा नेत्रप्रसादको फिस्टुला फुटेको र मिर्गौला डायलासिस गर्न समस्या भएको छोरी सम्झना खनालले बताइन् ।
सम्झनाका अनुसार सरस्वतीको टाउकोमा निकै गम्भीर चोट लागेको छ । महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलका अनुसार कुटपिटमा संलग्न राधेश्याम विष्टलाई शुक्रवार नियन्त्रणमा लिइएको हो ।
पोखरेलले भने ‘पिडीतको जाहेरीका आधारमा अभद्र ब्यवहार मुद्दामा अनुसन्धान गरिरहेका छौं ।’
बिहीबार राति अबेरसम्म पर्खाल बनाउँदा ‘हल्ला भएको’ भन्दै विष्ट शुक्रवार विहान दम्पतीबिरुद्ध आक्रमणमा उत्रिएका थिए ।






















