निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छः गृहमन्त्री अर्याल


गण्डकी, मंसिर २९। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभएको छ । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले निर्वाचन सम्पन्न गराउन प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारीसहित गण्डकीका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गरी भावी सुरक्षा सुरक्षा रणनीति र कार्यदिशा तय गरिने गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले बताउनुभयो । गोष्ठीमा निर्वाचन सुरक्षा योजनाका बारेमा पनि छलफल हुने उहाँको भनाइ छ ।


















