मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन


दमौली (तनहुँ), मंसिर २८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उहाँले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो ।
उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ । गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र भएको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन् ।
छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ जेठ ३ गते रु सात अर्ब ४० करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।






















