समाचार

आजबाट एमालेको ११ औं महाविधेशनको बन्द सत्र

नवलपुर टुडे
२०८२ मंसिर २८ | बिहान ०७:०८ बजे

काठमाडौं, मंसिर २८ । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत् आइतबारबाट बन्द सत्र सुरू हुँदैछ। बन्द सत्र बिहान साढे सात बजेबाट सुरू हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बन्द सत्रअन्तर्गत् सुरूमा अध्यक्ष मण्डल तयार हुनेछ। उक्त अध्यक्ष मण्डले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल बनेलगत्तै मौजुदा केन्द्रीय कमिटी भंग हुनेछ। र, निर्वाचन प्रक्रिया आरम्भ हुनेछ।

एमालेको यो नेतृत्व चयनको महाधिवेशन भएकाले यहाँ राजनीतिक, सांगठनिक प्रस्तावहरू पेश हुने छैन। गत शुक्रबार बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेकाले त्यससँग सम्बन्धित विषयहरू पनि पेश हुने छैनन्। एमालेको आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय हुनेछ।

बन्द सत्र सुरू भएसँगै निर्वाचन प्रक्रिया सुरू हुने भएकाले दुवै पक्ष टिम बनाउन जुटेका छन्। आगामी नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओलीले नै निरन्तरता दिन चाहेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिँदैछन्। उद्घाटन सत्र सकिएलगत्तै दुवै पक्ष टिम बनाउने कसरतमा जुटेका थिए।अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार शनिबार राति गुण्डुमा अहिले संस्थापन पक्षका नेताहरू छलफल गरेका थिए। ओली पक्षका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी संख्या नबढ्ने भएपछि उक्त समूहमा पुरानै पदाधिकारी त्यही पदमा दोहोरिने सम्भावना बढेको छ।

स्रोतका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल नै दोहोरिने सम्भावना बढेको छ। उपाध्यक्ष संख्या थपिँदा पृथ्वीसुब्बा गुरूङलाई सेट गर्ने सम्भावना थियो। ती नेताले बताएअनुसार महासचिव शंकर पोखरेल नै दोहोरिने सम्भावना बढेको छ। तर उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन्। पृथ्वीसुब्बा गुरूङले पनि निकट नेताहरूसँग कुनै हालतमा महासचिव नछाड्ने बताइरहेका छन्। तथापि तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, विष्णु रिमाललाई नै दोहो¥याउने सम्भावना छ। सचिवमा मौजुदा कमिटीमा रहेका पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने सम्भावना छ।

बाँकी तीन सचिव पदमा भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटीको बलियो दाबी छ। अन्तिममा ढकाल, बस्नेत तथा कँडेल र बोगटीमध्ये एक छानिन सक्ने सम्भावना बलियो बन्दै गएको ओलीनिकट नेताहरूले बताएका छन्।

यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि टिम टुंगो लगाउन छलफलमा जुटेको छ। ओली समूहमा आकांक्षी बढेका र पदाधिकारीको आकार नबढेकाले असन्तुष्टहरू तान्ने कसरतमा पनि उनीहरू छन्। एक नेताले बताएअनुसार आजभोलि नै ओली पक्षका केही नेता खुल्ने प्रबल सम्भावना छ। पोखरेल समूहमा अहिलेसम्म योगेश भट्टराईको टुंगो लागेको छ। उनी उपमहासचिव उठ्ने पक्कापक्की भएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एक जना महासचिव उठ्नेछन्। अर्का उपाध्यक्षमा सेट हुनेछन्।

पोखरेल समूहमा सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी छन्।

कमेन्टहरु